आर्थिक वर्ष सकिन एक दिन बाँकी हुँदा १२.२४ खर्ब राजस्व संकलन,गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

२०८३ असार ३२ गते

आर्थिक वर्ष सकिन एक दिन बाँकी हुँदा १२.२४ खर्ब राजस्व संकलन,गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ समाप्त हुन एक दिन मात्र बाँकी रहँदा सरकारले कुल १२ खर्ब २४ अर्ब ८० करोड ९० लाख रुपैयाँ राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असार ३१ गते (बुधबार) सम्मको यो संकलन वार्षिक लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँको ८२.७६ प्रतिशत हो।

 

Advertisement:

Ad
Ad

गत आर्थिक वर्षको तुलनामा भने यस वर्ष राजस्व संकलनमा सुधार देखिएको छ। गत वर्ष यही अवधिसम्म सरकारले ११ खर्ब ४० अर्ब ३६ करोड ६१ लाख रुपैयाँ राजस्व उठाएको थियो। त्यसको तुलनामा यस वर्ष ८४ अर्ब ४४ करोड २९ लाख रुपैयाँ अर्थात् ७.४० प्रतिशतले बढी राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ।

 

कुल राजस्वमध्ये कर राजस्वको हिस्सा सबैभन्दा ठूलो रहेको छ। बुधबारसम्म सरकारले ११ खर्ब ५ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ कर राजस्व संकलन गरेको छ, जुन वार्षिक लक्ष्यको ८३.४३ प्रतिशत हो। यस्तै, गैरकर राजस्वतर्फ १ खर्ब १८ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको ७६.९९ प्रतिशत बराबर हो। गत वर्षको तुलनामा कर राजस्व ७.३४ प्रतिशत र गैरकर राजस्व ८.०२ प्रतिशतले वृद्धि भएको देखिएको छ।

 

वैदेशिक अनुदान प्राप्तिमा पनि यस वर्ष उल्लेख्य सुधार आएको छ। सरकारले चालु वर्षका लागि ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा असार ३१ गतेसम्म ३१ अर्ब २६ करोड ४१ लाख रुपैयाँ प्राप्त भएको छ। यो लक्ष्यको ५८.५० प्रतिशत हो। गत वर्ष सोही अवधिमा प्राप्त अनुदान २३ अर्ब २० करोड १६ लाख रुपैयाँ मात्रै रहेको थियो, जसको तुलनामा यस वर्ष ३४.७५ प्रतिशत वृद्धि भएको हो।

 

आर्थिक वर्षको अन्तिम चरणमा राजस्व संकलन बढ्ने प्रवृत्तिअनुसार बुधबार मात्रै सरकारले २१ अर्ब १६ करोड ९२ लाख रुपैयाँ राजस्व उठाएको छ। यसमध्ये १८ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ कर राजस्व रहेको छ।

 

महालेखा नियन्त्रक कार्यालयका अनुसार बिहीबार आर्थिक वर्षको अन्तिम दिन भएकाले थप राजस्व संकलन हुने र कुल संकलनको अनुपात केही बढ्ने अपेक्षा गरिएको छ। तर अन्तिम दिनको संकलन जोडिए पनि सरकारले निर्धारण गरेको वार्षिक राजस्व लक्ष्य भने पूरा हुने सम्भावना न्यून देखिएको छ।