पोखरा विमानस्थल चलाउन दैनिक ३० उडान र १५ लाख यात्रु आवश्यक : बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेत

२०८३ मंसिर ०८ गते

पोखरा विमानस्थल चलाउन दैनिक ३० उडान र १५ लाख यात्रु आवश्यक : बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेत

काठमाडौं । बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई व्यावसायिक रूपमा सञ्चालन गर्न आफ्नै अन्तर्राष्ट्रिय वायुसेवा, प्रतिस्पर्धी हवाई भाडा र पर्याप्त यात्रु सुनिश्चित हुनुपर्ने बताएका छन् । विमानस्थल निर्माण गरेर मात्रै प्रतिफल प्राप्त नहुने भन्दै उनले त्यसलाई पर्यटन र क्षेत्रीय अर्थतन्त्रसँग जोडेर सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।

इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै बस्नेतले पोखरा विमानस्थल सञ्चालनका लागि पाँचवटा अनिवार्य पूर्वसर्त पूरा गर्नुपर्ने बताए । उनका अनुसार काठमाडौंको तुलनामा सस्तो सञ्चालन लागत, पर्याप्त यात्रु, आफ्नै अन्तर्राष्ट्रिय उडान, पर्यटनसँग जोडिएको व्यावसायिक संरचना र जोखिमको साझेदारी पोखरा विमानस्थलको दिगो सञ्चालनका आधार हुन् ।

Advertisement:

Ad

उनले पोखराबाट कम्तीमा दैनिक ३० वटा उडान आवागमन सञ्चालन गर्न सक्ने अवस्था बनाउनुपर्ने बताए । १५ घण्टा विमानस्थल सञ्चालन गर्दा प्रतिघण्टा दुईवटा उडान सम्भव हुने उनको भनाइ छ । करिब १५ लाख यात्रु आवागमनको अवस्था सिर्जना गर्न सके मात्रै विमानस्थल र वायुसेवा कम्पनीले सञ्चालनको अर्थतन्त्र (इकोनोमी अफ स्केल) प्राप्त गर्न सक्ने उनले बताए ।

‘इकोनोमी अफ स्केल नभई एयरलाइन्सको सञ्चालन नाफामूलक हुन सक्दैन,’ उनले भने । बस्नेतले पोखरा विमानस्थलको अन्तर्राष्ट्रिय सञ्चालनका लागि मौसम र भिजिबिलिटीसम्बन्धी चुनौती समाधान हुने सम्भावना देखिएको बताए । आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स अथोराइजेसन रिक्वायर्ड) प्रक्रियाबाट कम भिजिबिलिटीमा समेत विमान अवतरण गर्न सक्ने अवस्था बन्ने उनको अपेक्षा छ । यसले पोखरामा अन्तर्राष्ट्रिय उडान सञ्चालनको सम्भावना बढाउने उनले बताए ।

बुद्ध एयरले पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि विभिन्न विमानको प्राविधिक तथा व्यावसायिक सम्भाव्यता अध्ययन गरिरहेको उनले जानकारी दिए । पाँच वर्षअघि गरिएको अध्ययनलाई पुनःमूल्यांकन गर्न लागिएको र एकदेखि दुई महिनाभित्र अध्ययन पूरा गर्ने उनको भनाइ छ । विशेषगरी फ्लाई दुबईले प्रयोग गरिरहेको बोइङ ७३७ म्याक्स ८ विमानको सञ्चालन सम्भावनालाई पनि अध्ययनमा समेटिएको उनले बताए ।

बस्नेतले पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न नेपाली यात्रुको संख्यामा मात्रै भर पर्न नसकिने स्पष्ट पारे । नेपालको जनसंख्या र बजारको आकारका आधारमा आन्तरिक यात्रुबाट मात्रै अन्तर्राष्ट्रिय उडानलाई दिगो बनाउन कठिन हुने उनको भनाइ छ । त्यसका लागि पर्यटनलाई मुख्य आधार बनाएर विदेशी पर्यटक आकर्षित गर्नुपर्ने उनले बताए ।

उनले पोखरालाई गण्डकी प्रदेशको समग्र पर्यटन अर्थतन्त्रसँग जोडेर विकास गर्नुपर्ने बताए । एयरलाइन्सलाई छुट्टै व्यवसायका रूपमा सञ्चालन गर्नुभन्दा होटल, यातायात, पर्यटन व्यवसायी र स्थानीय सरकारसँग एकीकृत योजना बनाएर अघि बढ्नुपर्ने उनको सुझाव छ । ‘एयरलाइन्स स्ट्यान्ड अलोन वा छुट्टै क्षेत्रमा बसेर काम गर्न सक्दैन । एयरलाइन्स एंकर इन्टरप्राइज बन्नुपर्छ र त्यससँग पर्यटनको समग्र इकोसिस्टम जोडिनुपर्छ,’ उनले भने ।

बस्नेतले पोखरा विमानस्थललाई सफल बनाउन गण्डकी प्रदेशको पर्यटन विकास र हवाई सेवा विस्तारलाई एउटै योजनामा अघि बढाउनुपर्ने बताए । त्यसका लागि जोखिम बाँडफाँट, पूर्वाधारको विकास, नियामकीय स्थिरता र अफसिजनमा होटल तथा आतिथ्य सेवाको प्रतिस्पर्धी मूल्य निर्धारण आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा उनले नेपालको अर्थतन्त्र र रोजगारीको अवस्थाप्रति पनि चिन्ता व्यक्त गरे । उनका अनुसार नेपालमा हरेक वर्ष कक्षा १२ उत्तीर्ण गरेर करिब साढे तीन लाख युवा रोजगारीको खोजीमा श्रम बजारमा प्रवेश गर्छन् । तर, देशभित्र पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा उनीहरू विदेशिनुपर्ने अवस्था छ ।

विदेशमा न्यून आम्दानीका लागि श्रम बेच्नुपर्ने अवस्थालाई उनले नेपालको भविष्यका लागि चिन्ताजनक बताए । विदेशमा काम गरेर औसतमा मासिक १२ हजार रुपैयाँ घर पठाउने श्रमिकको अवस्थालाई उदाहरण दिँदै उनले वैदेशिक रोजगारीलाई मात्रै आर्थिक समृद्धिको आधार मान्न नहुने बताए ।

उनले विदेशमा न्यून आम्दानीका लागि श्रम गरिरहेका युवालाई ’लस्ट जेनेरेसन’को संज्ञा दिँदै उनीहरूको श्रम र सीपलाई स्वदेशमै उपयोग गर्ने वातावरण बनाउनुपर्ने बताए । रोजगारी सिर्जना र उत्पादन विस्तारका लागि पर्यटन क्षेत्र सबैभन्दा छिटो परिणाम दिन सक्ने क्षेत्र भएको उनको धारणा छ । बस्नेतले बैंकिङ प्रणालीमा रहेको लगानीयोग्य रकम उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नुपर्नेमा पनि जोड दिए । आफूले सुनेअनुसार बैंकिङ प्रणालीमा करिब २० खर्ब रुपैयाँ निष्क्रिय रहेको उल्लेख गर्दै उनले त्यस्तो रकम उपभोगमा मात्रै खर्च नभई उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी हुनुपर्ने बताए ।

‘दिगो रोजगारी र समतामूलक अर्थतन्त्र निर्माणका लागि सबैभन्दा छिटो काम गर्ने क्षेत्र पर्यटन नै हो,’ उनले भने । उनले पोखरा विमानस्थललाई सञ्चालनमा ल्याउन गण्डकी प्रदेशबाटै व्यावहारिक पहल गर्न सकिने बताए । त्यसका लागि प्रदेशको पर्यटन सम्भावना, निजी क्षेत्रको लगानी र हवाई सेवाबीच सहकार्य आवश्यक रहेको उनको निष्कर्ष छ ।

बस्नेतले पर्यटन विकाससँगै जलवायु परिवर्तनबाट उत्पन्न हुने जोखिम व्यवस्थापनलाई पनि प्राथमिकता दिनुपर्ने बताए । बाढी, हिमताल विस्फोट र अन्य प्राकृतिक विपद्का कारण पर्यटकीय गन्तव्य प्रभावित हुन सक्ने भन्दै पर्यटकको सुरक्षा, आपत्कालीन उद्धार प्रणाली र जोखिमसम्बन्धी पूर्वतयारी बलियो बनाउनुपर्ने उनको भनाइ छ । विशेषगरी भोटेकोसीजस्ता बाढीका घटना दोहोरिन सक्ने अवस्थालाई ध्यानमा राखेर पर्यटन क्षेत्रमा जलवायु परिवर्तन अनुकूलनका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताए । पर्यटकलाई नेपाल सुरक्षित गन्तव्य हो भन्ने विश्वास दिलाउन प्रभावकारी आपत्कालीन प्रतिक्रिया प्रणाली आवश्यक रहेको उनको जोड थियो ।