नेपाल आयल निगमको स्पष्टोक्ति : उपत्यकामा एलपी ग्यासको अभाव छैन,अनावश्यक खरिद नगर्नु

२०८२ माघ २० गते

नेपाल आयल निगमको स्पष्टोक्ति : उपत्यकामा एलपी ग्यासको अभाव छैन,अनावश्यक खरिद नगर्नु

काठमाडौँ। विगत केही दिनदेखि काठमाडौँ उपत्यकामा एलपी ग्यासको अभाव रहेको भन्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचार र गुनासोप्रति नेपाल आयल निगमले ध्यानाकर्षण भएको जनाएको छ। निगमले सार्वजनिक गरेको विज्ञप्तिमा हाल बजारमा ग्यासको समग्र अभाव नरहेको स्पष्ट पारेको छ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट ग्यास आयातका लागि देशभरका ग्यास उद्योगहरूलाई मासिक औसत ४९,५०० मेट्रिक टन एलपी ग्यास उपलब्ध गराइँदै आएको छ।यसअनुसार नोभेम्बर २०२५ मा ४७,२६४ मेट्रिक टन, डिसेम्बर २०२५ मा ४८,५३१ मेट्रिक टन र जनवरी २०२६ मा ४७,३०४ मेट्रिक टन एलपी ग्यास आयात भई आम उपभोक्तामाझ बिक्री–वितरण गरिएको निगमले जनाएको छ।

Advertisement:

Ad
Ad

निगमका अनुसार उक्त परिमाण जाडोयामको माग धान्न पर्याप्त रहेको छ। यद्यपि, हाल बजारमा केही एकाध उद्योगका ग्यास सिलिण्डरमा अस्थायी रूपमा अभाव देखिएको स्वीकार गर्दै निगमले ती उद्योगहरूलाई आपूर्ति सहज बनाउन आवश्यक निर्देशन दिइसकेको जनाएको छ। यसका कारण केही समयमै बजार अवस्था सामान्य हुने निगमको विश्वास छ।

बजारको वर्तमान अवस्था र आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नेपाल आयल निगमले फेब्रुअरी २०२६ का लागि साविकको परिमाणमा थप २,००० मेट्रिक टन एलपी ग्यास आयात गर्न इण्डियन आयल कर्पोरेशनसँग औपचारिक रूपमा माग पठाइसकेको पनि जनाएको छ।

निगमले आम उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै त्यसले बजार स्थिरतामा सहयोग पुग्ने बताएको छ।