२०८३ साउन १४ गते
काठमाडौं । यातायात व्यवस्था विभागले म्याद सकिन एक वर्षभन्दा कम समय बाँकी रहेका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न सेवाग्राहीलाई आग्रह गरेको छ। विभागका अनुसार नवीकरण गरिएका लाइसेन्स नयाँ व्यवस्थाअनुसार १० वर्षका लागि जारी गरिनेछ। म्याद सकिन एक वर्षभन्दा कम अवधि बाँकी रहेका पुराना लाइसेन्स हाल छपाइ नगरिएकाले समयमै नवीकरण गरी १० वर्षे लाइसेन्स लिन विभागले अनुरोध गरेको हो।
यता, विभागले पछिल्ला चार वर्षदेखि रोकिएको लाइसेन्स छपाइ कार्य सम्पन्न भएको पनि जनाएको छ। विभागका अनुसार गत असारसम्मका सबै बाँकी आवेदनका लाइसेन्स छापिसकिएको छ भने साउन ७ गतेसम्म २७ लाख ४७ हजारभन्दा बढी लाइसेन्स वितरणका लागि देशभरका यातायात कार्यालयमा पठाइसकिएको छ।
सुरक्षण मुद्रण केन्द्रसँग नयाँ सम्झौता भएपछि लाइसेन्स छपाइ प्रक्रिया नियमित र तीव्र रूपमा अघि बढेको विभागले जनाएको छ।
प्रतिक्रिया