२०८३ वैशाख १४ गते
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाली शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन अन्तिम समयमा हरियो भएर बन्द भएको नेप्सेले सोमबार पनि सोही सकारात्मक लयलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक ७.७३ अंकले बढ्दै २७९६.४३ विन्दुमा पुगेको छ।
तर बजार बढेपनि कारोबार रकम भने घटेको छ। गत शुक्रबार ५ अर्ब २७ करोड रुपैयाँको कारोबार भएकोमा यस दिन ४ अर्ब ७४ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कुल ३५१ स्टकको ८१ हजारभन्दा बढी कारोबारमार्फत १ करोड ९ लाखभन्दा बढी कित्ता शेयरको लेनदेन भएको हो।
यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, शिखर पावर डेभलपमेन्ट र सिटी होटलको शेयर मूल्य सर्किट लेभलमा पुगेको छ। त्यस्तै, झापा इनर्जी करिब साढे ९ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंक झण्डै ७ प्रतिशतले बढेका छन्। तर निफ्रा ग्रीन इनर्जी डिबेञ्चरको मूल्य भने १४ प्रतिशतभन्दा बढीले घटेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रह्यो, जसको ३० करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसपछि आँखु खोला जलविद्युत कम्पनी र सोलु हाइड्रोपावरको पनि उल्लेख्य कारोबार देखिएको छ।
समग्रमा, १३ उपसमूहमध्ये ८ उपसमूहमा वृद्धि देखिँदा ५ उपसमूहमा गिरावट आएको छ। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५२ प्रतिशतले बढ्दा, व्यापार उपसमूह भने सबैभन्दा बढी १.३९ प्रतिशतले घटेको छ।
प्रतिक्रिया