२०८३ असार २३ गते
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ। नीति पारित गर्न हाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक जारी छ।
यसपटकको मौद्रिक नीतिले अर्थतन्त्रलाई थप चलायमान बनाउने, कर्जा प्रवाह विस्तार गर्ने र निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने विषयलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ। सरकारको बजेटसँग तालमेल मिल्ने गरी बैंकिङ प्रणालीमा रहेको अधिक तरलताको व्यवस्थापन, उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउने, ब्याजदरलाई थप सहज बनाउने तथा साना–मझौला उद्यमलाई सहजीकरण गर्ने व्यवस्था समेटिने अनुमान गरिएको छ।
स्रोतका अनुसार यस वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी नयाँ नियामकीय व्यवस्था भने समावेश गरिने छैन। आवश्यक नियामकीय संशोधनहरू मौद्रिक नीतिभन्दा बाहिर एकीकृत निर्देशन तथा अन्य नियामकीय माध्यमबाट क्रमिक रूपमा लागू गरिने तयारी छ।
सुस्त कर्जा विस्तार, कमजोर लगानी वातावरण र आर्थिक गतिविधिलाई पुनः गति दिने उद्देश्यसहित राष्ट्र बैंकले लचकदार र बजारमुखी नीति ल्याउने तयारी गरेको बताइएको छ। आज सार्वजनिक हुने मौद्रिक नीतिले बैंकिङ क्षेत्र, पुँजी बजार, निजी क्षेत्र तथा समग्र अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया