जब मनपरी आइजीपीमाथि खनिएका खगेन्द्र सुनार आफैं बैठक छाडेर टाप कसे..

२०८३ साउन २७ गते

जब मनपरी आइजीपीमाथि खनिएका खगेन्द्र सुनार आफैं बैठक छाडेर टाप कसे..

काठमाडौं । नेपाल प्रहरीको पोशाक तथा अन्य सामग्री खरिदमा भ्रष्टाचार भएको आरोप लगाउँदै छानबिन समिति गठनको माग गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले भने नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले जवाफ दिन थालेपछि बैठक नै छाडेका छन्।

 

Advertisement:

Ad
Ad

सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकमा नेपाल प्रहरीको पोशाक खरिदसम्बन्धी विषयमा छलफलका क्रममा सुनारले प्रहरीको खरिद प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका थिए। उनले जुत्ता, मोजा, पोशाकदेखि लाठी खरिदसम्ममा भ्रष्टाचार भएको सार्वजनिक रूपमा आरोप लागिरहेको दाबी गर्दै तत्काल निष्पक्ष छानबिन हुनुपर्ने माग गरे।

 

'सामान खरिदमा भ्रष्टाचार गर्ने, जुत्ता खरिदमा भ्रष्टाचार गर्ने, अरु त अरु लठ्ठी (भाटा( खरिदमा भ्रष्टाचार गर्ने। भाटा खरिदमा भ्रष्टाचार हुन्छ भन्ने त्यो भाटाले कसलाई हान्ने हो फेरि ? भ्रष्टाचार गरेर खरिद गरेको भाटाले जनतालाई हान्न पाइँदैन,' उनले बैठकमा भने।

 

सुनारले प्रहरी सामग्री खरिदसम्बन्धी विवादले नेपाल प्रहरी मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै नेपालको छवि बिग्रिएको दाबी गर्दै भ्रष्टाचारविरुद्ध लड्न जनताले आफूहरूलाई संसद्मा पठाएको भन्दै छानबिनको माग दोहोर्‍याए।

 

तर, सुनारले आरोप लगाएलगत्तै जवाफ दिन उभिएका आइजीपी कार्कीले प्रहरीको खरिद प्रक्रियामा कुनै पनि आर्थिक अनियमितता वा भ्रष्टाचार नभएको स्पष्ट पारे। उनले प्रमाणविना सार्वजनिक रूपमा आरोप लगाउने प्रवृत्तिले संस्थाको प्रतिष्ठा र कर्मचारीहरूको मनोबलमा गम्भीर असर पर्ने बताए।

 

'आजसम्म निष्ठापूर्वक काम गरेको मान्छेलाई ल्याएर जे मन लाग्यो त्यही भन्या छ। जे मन लाग्यो त्यही भन्ने स्थान होइन होला त, कुनै पनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि,' आइजीपी कार्कीले असन्तुष्टि जनाउँदै भने।

 

उनले प्रहरी प्रशासनमाथि विभिन्न प्रकृतिका उजुरी र निवेदन पर्ने गरेको भन्दै सबै आरोपलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताए। 'अलिकति हाम्रा पनि निवेदन परेका छन् नि। सबैका परेका निवेदन यस्तैगरी आउँदाखेरी गाह्रो पर्छ। अब म पनि सोच्दै छु, ल्याउँ कि क्या हो,'उनले थपे।

 

आइजीपीले वर्षौँदेखि इमानदारीपूर्वक काम गरिरहेका कर्मचारीमाथि तथ्य र प्रमाणबिना जथाभावी आरोप लगाउनु उचित नभएको उल्लेख गर्दै सार्वजनिक निकायका बैठकमा व्यक्त हुने अभिव्यक्ति मर्यादित र जिम्मेवार हुनुपर्ने धारणा राखे।

 

उता प्रहरी नेतृत्वमाथि कडा आरोप लगाएका सांसद सुनार भने आइजीपी कार्कीले आरोपको प्रतिवाद गर्न थालेपछि बैठकमै बसेर जवाफ नसुनी बाहिरिएका थिए। उनी बैठक छाडेर निस्किएपछि समितिमा उपस्थित अन्य सदस्यहरूले भने आइजीपीको जवाफ सुनेका थिए।