बढ्यो घरजग्गाको कारोबार, एकै महिनामा ११ अर्ब ८४ करोड राजस्व

२०८३ साउन ०१ गते

बढ्यो घरजग्गाको कारोबार, एकै महिनामा ११ अर्ब ८४ करोड राजस्व

काठमाडौं। चालु आर्थिक वर्षको अन्तिम महिना असारमा देशभर घरजग्गा किनबेच अस्वाभाविक रूपमा बढेको देखिएको छ। सरकारले पुँजीगत लाभकर बढाउने निर्णय र भूउपयोग वर्गीकरण पूरा नभएका स्थानीय तहमा साउनदेखि कित्ताकाट बन्द हुने व्यवस्थाले धेरै जग्गाधनीलाई असारभित्रै कारोबार टुंग्याउन प्रेरित गरेको व्यवसायीहरूको भनाइ छ।

 

Advertisement:

Ad
Ad

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घरजग्गा बिक्रीबाट प्राप्त हुने नाफामा लाग्ने पुँजीगत लाभकर बढाउने घोषणा गरेका थिए। नयाँ व्यवस्थाअनुसार साउनदेखि पाँच वर्ष वा सोभन्दा बढी समय स्वामित्वमा रहेको घरजग्गा बिक्री गर्दा नाफामा ७.५ प्रतिशत कर लाग्नेछ, जुन यसअघि ५ प्रतिशत थियो। त्यसैगरी पाँच वर्षभन्दा कम स्वामित्व भएका घरजग्गाको हकमा करदर ७.५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्‍याइएको छ।


भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार असारमा आर्थिक वर्ष २०८२/८३ कै सबैभन्दा धेरै घरजग्गा किनबेच भएको छ। उक्त महिनामा देशभर ७० हजार ४८० वटा लिखत पारित भएका छन्, जसबाट सरकारले ११ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।यसअघिको आर्थिक वर्ष २०८१/८२ को असारमा भने ५५ हजार ५२४ वटा मात्रै लिखत पारित भएका थिए। त्यसबेला घरजग्गा कारोबारबाट सरकारले ६ अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।

 

विभागका तथ्यांकअनुसार असारमा सबैभन्दा धेरै लिखत सुनसरीको इनरुवा भूमि प्रशासन कार्यालयबाट पारित भएका छन्। त्यहाँ २ हजार ९०३ वटा लिखत पारित भएका छन्।राजस्व संकलनतर्फ भने लगनखेल भूमि प्रशासन कार्यालय सबैभन्दा अगाडि रहेको छ। उक्त कार्यालयले असारमा मात्रै १ अर्ब २१ करोड रुपैयाँ राजस्व उठाएको विभागको तथ्यांक छ।

 

त्यसपछि कलंकीले १ अर्ब १ करोड रुपैयाँ, भक्तपुरले ९६ करोड ५१ लाख रुपैयाँ, डिल्लीबजारले ९० करोड ५४ लाख रुपैयाँ तथा चाबहिलले ७९ करोड १९ लाख रुपैयाँ राजस्व संकलन गरेका छन्।

 

कर संरचनामा भएको परिवर्तन, कित्ताकाटसम्बन्धी नयाँ व्यवस्था र बजारमा देखिएको मनोवैज्ञानिक प्रभावका कारण असार महिनामा घरजग्गा कारोबारले असाधारण गति लिएको व्यवसायीहरूको निष्कर्ष छ।