२०८३ भदौ २३ गते
नेपाली राजनीतिमा कहिलेकाहीँ कुनै व्यक्ति केवल एउटा राजनीतिक पात्र भएर उपस्थित हुँदैनस ऊ समयको माग, परिवर्तनको प्रवृत्ति र पुस्तान्तरणको आवाज बनेर उभिन्छ। गगन थापा आज त्यही सम्भावनाको प्रतिनिधि पात्रका रूपमा देखिन्छन्। उनीप्रतिको आशा व्यक्तिपूजाबाट जन्मिएको होइन, राजनीतिमा नयाँ सोच, नयाँ संस्कार, नयाँ ऊर्जा र नयाँ कार्यशैलीको खोजीबाट जन्मिएको हो। पुरानो राजनीतिक संस्कारको घेराभित्र नयाँ पुस्ताको चेतना र आकांक्षालाई समेट्दै अघि बढ्न खोज्ने उनको प्रयत्नले राष्ट्रिय राजनीतिमा आशाको एउटा उज्यालो किरण देखाएको छ।
गगन थापाको व्यक्तित्वको सबैभन्दा आकर्षक पक्षमध्ये एउटा उनको दर्शन, विचार, बोली र व्यवहारबीच देखिने एकरूपता हो। राजनीतिमा बोलेको कुरा व्यवहारमा नउतार्ने, परिस्थितिअनुसार विचार बदल्ने र लोकप्रियताको लोभमा सिद्धान्तसँग सम्झौता गर्ने प्रवृत्ति नौलो होइन। तर विचारलाई व्यवहारसँग जोड्न सक्ने, आफूले बोलेको कुराको जिम्मेवारी लिन सक्ने र प्रतिकूल परिस्थितिमा पनि आफ्नो मूल मान्यताबाट विचलित नहुने चरित्रले व्यक्तित्वलाई खार्दछ। गगनको राजनीतिक यात्रामा देखिएको यही निरन्तरता र विश्वप्रकाश शर्माजस्ता निष्ठावान् व्यक्तित्वहरूको साथले परिवर्तनको यात्राप्रति थप विश्वास जगाएको छ।
उनको व्यक्तित्व बुझ्ने अर्को महत्वपूर्ण आधार उनको संस्कार हो। प्रत्येक बिहान आमाको हातको टीका निधारमा र टाउकामा फूल सिउरेर, आमाबाबुको आशीर्वाद लिएर, अगाध आस्था, भक्ति, त्याग र समर्पणको भावसहित राष्ट्रनिर्माणको अभीष्ट बोकेर घरबाट निस्कने मानिसको मनमा आफ्नो माटोप्रतिको श्रद्धा अवश्य गहिरो हुन्छ। संस्कार मानिसको सबैभन्दा ठूलो परिचय हो। ठूलालाई सम्मान गर्ने, सानालाई स्नेह गर्ने, अरूका कुरा धैर्यपूर्वक सुन्ने र देखावटी बोली तथा व्यवहारबाट टाढा रहने स्वभावले राजनीतिलाई पनि मानवीय बनाउँछ। राजनीति केवल सत्ता प्राप्तिको खेल होइन, समाजलाई दिशा दिने नैतिक जिम्मेवारी हो भन्ने चेतनाले मात्र नेतृत्वलाई दीर्घजीवी बनाउँछ।
सस्तो लोकप्रियता राजनीतिमा क्षणभरको ताली हुन सक्छ, तर त्यसले इतिहास निर्माण गर्दैन। इतिहास निर्माण गर्ने शक्ति नैतिक बलमा हुन्छ। जनताको मन जित्न नाराभन्दा चरित्र ठूलो हुन्छ, भाषणभन्दा व्यवहार ठूलो हुन्छ र प्रचारभन्दा परिणाम ठूलो हुन्छ। गगनले यही नैतिक बललाई आफ्नो राजनीतिक अस्त्र बनाउन सके भने उनको यात्रा अझ अर्थपूर्ण बन्न सक्छ। धार्मिक आस्थामा दृढ भएर पनि त्यसको प्रदर्शन नगर्नु उनको निजी विश्वासको विषय हो। आस्था जब प्रदर्शनको विषय नभई अन्तःसाधना बन्छ, तब त्यसले मानिसलाई बाहिरभन्दा भित्रबाट बलियो बनाउँछ।
आज नेपालको राजनीति एउटा जटिल महाभारतजस्तै देखिन्छ। एकातिर विधिको शासन, सुशासन, न्याय, समानता र परिवर्तनको जनआकांक्षा छस अर्कोतिर भ्रष्टाचार, बेथिति, विधिविहीनता, नातावाद, कृपावाद र दण्डहीनताको बाक्लो छाया छ। यस्तो अवस्थामा गगन थापाको भूमिका महाभारतका अर्जुनको जस्तै देखिन्छ। अर्जुनसँग धनुष थियो, तर उनको वास्तविक शक्ति लक्ष्यप्रतिको एकाग्रता थियो। लक्ष्य स्पष्ट नभएको धनुषले युद्ध जित्दैन। त्यसैले गगनका लागि पनि पदभन्दा माथि राष्ट्र, दलभन्दा माथि लोकतन्त्र, स्वार्थभन्दा माथि सत्य र व्यक्तिभन्दा माथि विधिलाई राख्ने दृढता आवश्यक छ।
अर्जुनलाई कृष्णको साथ थियो। कृष्ण केवल सारथि थिएनन्, विवेकका मार्गदर्शक थिए। आज गगनलाई पनि त्यस्तै विवेकशील, निष्ठावान् र सिद्धान्तप्रति प्रतिबद्ध सहयात्रीहरूको आवश्यकता छ। विश्वप्रकाश शर्माजस्ता व्यक्तित्वहरूको साथ यस यात्राको महत्वपूर्ण शक्ति बन्न सक्छ। तर राजनीतिक यात्रामा बाहिरका चुनौतीभन्दा कहिलेकाहीँ आफ्नै घरभित्रका स्वार्थ अझ कठिन हुन्छन्। त्यसैले परिवर्तनको युद्ध विपक्षीसँग मात्र होइन, आफ्नै कमजोरीसँग पनि लड्नुपर्ने हुन्छ।
हिजो ठूलाठूला उपाधि र पद धारण गरेका कतिपय व्यक्तिहरूमाथि विश्वविद्यालयदेखि सार्वजनिक संस्थासम्मका स्रोत–सम्पत्तिमाथि आँखा लगाएको, पदलाई निजी लाभको माध्यम बनाएको र राज्य संयन्त्रलाई स्वार्थपूर्तिको साधन बनाएको आरोप लाग्दै आएको छ। विभिन्न भ्रष्टाचारका काण्डहरूले राजनीतिक नेतृत्वप्रतिको जनविश्वासमा गहिरो चोट पुर्याएका छन्। विश्वविद्यालयको जिम्मेवारी पाउँदा विश्वविद्यालयकै जग्गामा आँखा लगाउने, संस्थाको नेतृत्व पाउँदा संस्थाकै सम्पत्तिमा लोभ गर्ने, मन्त्रीको कुर्सी पाउँदा राज्यशक्तिलाई व्यक्तिको कारोबारमा प्रयोग गर्ने र मानव बेचबिखनजस्तो गम्भीर विषयसँग जोडिएका प्रकरणहरूले हाम्रो राजनीतिक संस्कारमाथि नै प्रश्न उठाएका छन्। यस्ता प्रवृत्ति व्यक्ति विशेषको कमजोरी मात्र होइनन्स यी राज्यको आत्मामाथि लागेका घाउ हुन्।
त्यसैले गगनले बाहिरका ‘शकुनी’हरूबाट मात्र होइन, आफ्नै वरिपरिका स्वार्थ, चाप्लुसी र अवसरवादबाट पनि सतर्क रहनुपर्छ। परिवर्तनको बाटोमा सबैभन्दा खतरनाक अवरोध कहिलेकाहीँ विरोधी होइन, आफू नजिकै बसेर गलतलाई सही देखाउने व्यक्ति बन्न सक्छ। इतिहासले सिकाएको छ-रावणको अन्त्य बाहिरबाट आएका शत्रुले होइन, घरभित्रको विभीषणले देखाएको सत्यले सम्भव बनाएको थियो। त्यसैले आवश्यक पर्दा आफ्नै घरभित्र विभीषणको भूमिका निर्वाह गर्ने साहस पनि नेतृत्वमा हुनुपर्छ। आफ्नो पक्षको मानिस भए पनि गलतलाई गलत भन्न सक्ने नैतिक दृढता नै सच्चा नेतृत्वको परिचय हो।
राष्ट्रनिर्माणको महायज्ञमा आहुति अरूको होइन, सर्वप्रथम आफ्नै स्वार्थको दिन सक्नुपर्छ। पदको मोह, गुटको मोह, प्रशंसाको मोह र सत्ताको मोह त्यागेर राष्ट्रहितलाई सर्वोपरि राख्न सके मात्र परिवर्तनले वास्तविक अर्थ पाउँछ। गगनको अगाडिको बाटो सहज छैन। उनलाई आफ्नै पार्टीभित्रका चुनौतीसँग पनि जुध्नुपर्नेछ र राष्ट्रिय राजनीतिमा जरा गाडेका पुराना प्रवृत्तिसँग पनि संघर्ष गर्नुपर्नेछ। तर कठिन बाटो नै इतिहास निर्माण गर्ने बाटो पनि हो।
यदि उनले पदलाई साध्य होइन, साधन बनाएस लोकप्रियतालाई लक्ष्य होइन, परिणाम बनाएस आफ्ना र परायाबीच न्यायको तराजु नबिगारेस आलोचनालाई शत्रुता नठानेस र संविधान, विधि, सुशासन तथा राष्ट्रहितलाई आफ्नो राजनीतिक यात्राको ध्रुवतारा बनाए भने नेपालको रूपान्तरणमा उनको भूमिका ऐतिहासिक बन्न सक्छ।
देशलाई आज अर्को नारा मात्र होइन, नयाँ राजनीतिक संस्कार चाहिएको छ। जनतालाई अर्को आश्वासन मात्र होइन, विश्वास गर्न सकिने आचरण चाहिएको छ। पुस्ता बदलिनु मात्र पुस्तान्तरण होइनस सोच बदलिनु, संस्कार बदलिनु र शासन गर्ने शैली बदलिनु नै वास्तविक पुस्तान्तरण हो।
गगन थापा त्यही पुस्तान्तरणको सेतु बन्न सकून्। अर्जुनको हातमा रहेको धनुषझैँ उनको लक्ष्य अडिग रहोस्, कृष्णको विवेकझैँ सही मार्गदर्शन प्राप्त होस् र शकुनी प्रवृत्तिका छल–कपटलाई परास्त गर्दै विभीषणको सत्य बोल्ने साहस पनि कायम रहोस्। अन्ततः नेपालको रूपान्तरणको महान् यज्ञमा व्यक्तिगत महत्वाकांक्षाको होइन, राष्ट्रहितको दीप बलोस्, त्यस उज्यालोमा नेपाली राजनीतिले नयाँ बिहान देखोस्। यही शुभेच्छा।
प्रतिक्रिया