सिटिजन लाइफको नाफा सामान्य बढ्यो, खर्च र सल्भेन्सी अनुपात कमजोर

२०८२ माघ २६ गते

सिटिजन लाइफको नाफा सामान्य बढ्यो, खर्च र सल्भेन्सी अनुपात कमजोर

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक (साउनदेखि पुस मसान्तसम्म) को वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको आम्दानी र जीवन बीमाकोष उल्लेख्य रूपमा विस्तार भए पनि खर्च वृद्धि र सल्भेन्सी अनुपातमा आएको गिरावटले वित्तीय दबाब देखिएको छ।

समीक्षा अवधिमा कम्पनीले २३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ०.२४ प्रतिशतको सामान्य वृद्धि हो। आम्दानी बढे पनि खर्च तीव्र रूपमा बढेकाले नाफा सीमित भएको देखिन्छ।

Advertisement:

Ad
Ad

कम्पनीको मुख्य आम्दानी स्रोत खुद बीमाशुल्क आर्जन २२.२३ प्रतिशतले बढेर ३ अर्ब ८८ करोड ८७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कुल आम्दानी १८.९५ प्रतिशतले बढेर ४ अर्ब ९८ करोड ३५ लाख रुपैयाँ पुगेको छ, जसले कम्पनीको बीमा व्यवसाय विस्तार हुँदै गएको संकेत गर्छ।

तर, आम्दानीसँगै खर्च पनि उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा कुल खर्च २० प्रतिशतले बढेर ४ अर्ब ७५ करोड २० लाख रुपैयाँ पुगेको छ। अभिकर्तालाई दिइने कमिशन ३१ करोड ८५ लाख रुपैयाँबाट बढेर ३८ करोड ६ लाख रुपैयाँ पुगेको छ भने कर्मचारी कमिशन पनि १७ करोड ९९ लाख रुपैयाँबाट बढेर १८ करोड ८० लाख रुपैयाँ पुगेको छ।

सकारात्मक पक्षतर्फ हेर्दा कम्पनीको जीवन बीमाकोष १६ अर्ब ८५ करोड रुपैयाँबाट बढेर २२ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। साथै, कम्पनीले २६ अर्ब रुपैयाँ लगानी गरेको छ भने कुल सम्पत्ति २९ अर्ब ८८ करोड रुपैयाँभन्दा माथि पुगेको छ, जसले दीर्घकालीन आधार बलियो बन्दै गएको देखाउँछ।

यद्यपि, लगानीकर्ताका लागि केही सूचक कमजोर देखिएका छन्। कम्पनीको प्रतिशेयर आम्दानी  ११.७३ रुपैयाँबाट घटेर ९.२६ रुपैयाँ मा झरेको छ। त्यस्तै, सोल्भेन्सी अनुपात ३.४२ प्रतिशतबाट घटेर १.७३ प्रतिशत मा झरेको छ, जसले जोखिम वहन क्षमतामा दबाब देखाएको छ।

५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीसँग ४५ करोड रुपैयाँ शेयर प्रिमियम, २५ करोड ३५ लाख रुपैयाँ महाविपत्ति कोष र ३५ करोड ६५ लाख रुपैयाँ जगेडा कोष रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२६.५२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५१.१८ गुणा पुगेको छ।

समग्रमा, सिटिजन लाइफको वित्तीय विवरणले व्यवसायिक विस्तार र सम्पत्ति वृद्धिको संकेत दिए पनि खर्च नियन्त्रण, नाफा सुधार र सल्भेन्सी अनुपात सुदृढीकरण आगामी दिनका लागि कम्पनीको मुख्य चुनौतिका रुपमा रहेको देखिन्छ ।