व्यवसायीसँग प्रधानमन्त्रीको भेट : अन्धाधुन्ध धरपकड नगर्ने आश्वासन

२०८३ असार २४ गते

व्यवसायीसँग प्रधानमन्त्रीको भेट : अन्धाधुन्ध धरपकड नगर्ने आश्वासन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधार सम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री शाहले अनौपचारिक कुराकानीका लागि डाकेको बैठकमा शुरुमै व्यवसायीको अहिलेका समस्या केके हुन् निर्धक्क भन्न आग्रह गरेका थिए । 

 

Advertisement:

Ad
Ad

त्यसपछि व्यवसायीहरुले अहिलेको सबैभन्दा ठूलो समस्या व्यवसायीमाथि भएको धरपकड र राष्ट्र बैंकको कसिलो नीति रहेको जसले गर्दा व्यवसायीहरुको मनोबल खस्किएको बताएका थिए । प्रधानमदन्त्रीले प्रतिक्रिुयामा धरपकड नहुने आश्वासन दिएका थिए ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि विषयमा केके गर्न सकिन्छ भनेर व्यवसायीका राय लिएका थिए ।


प्रधानमन्त्री शाहले उद्योग तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार–निजी क्षेत्रबीच नियमित र परिणाममुखी संवादको आवश्यकताबारे सुझाव प्रस्तुत गरेका थिए ।


प्रधानमन्त्री शाहले प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायमार्फत आवश्यक सहजीकरण तथा सुधारका कार्य अघि बढाइने बताए । उनले आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने स्पष्ट पारे ।


प्रधानमन्त्रीसँगको आजको छलफललमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राको सहभागिता रहेको थियो ।