२०८३ असार ३२ गते
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा काठमाडौं र ललितपुरका पाँच खाद्य व्यवसायमा आकस्मिक बजार अनुगमन गरेको छ। अनुगमनका क्रममा म्याद सकिएका खाद्य पदार्थ फेला परेपछि नष्ट गरिएको छ भने सम्बन्धित व्यवसायलाई सुधारका लागि निर्देशन दिइएको विभागले जनाएको छ।
विभागका अनुसार काठमाडौं महानगरपालिका–२६ लैनचौरस्थित गाउँबेसी थकालीमा केही प्रशोधित खाद्य पदार्थमा लेबल नभएको तथा केहीमा पूर्ण लेबल विवरण नपाइएको, फ्रिजको प्रयोग अव्यवस्थित रहेको र भण्डारण कक्षमा म्याद सकिएका पाँच थान ४०० मिलिलिटर रोज वाटर तथा एक थान १९० मिलिलिटर केवरा वाटर फेला परेको थियो। ती खाद्य पदार्थ नष्ट गरिएको छ भने थप अनुसन्धान तथा कारबाही काठमाडौं महानगरपालिकाले अघि बढाउने निर्णय गरिएको छ।
यस्तै, ठमेलस्थित भागवती कोल्ड स्टोरमा सरसफाइ कमजोर रहेको, खाद्य पदार्थ अव्यवस्थित रूपमा भण्डारण गरिएको, कीट नियन्त्रण प्रभावकारी नभएको तथा पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थ बिक्री गरेको पाइएको छ। त्यहाँ म्याद सकिएका छ थान ४०० मिलिलिटर रोज वाटर र एक थान ०.७ लिटर ब्लुबेरी सिरप फेला परेपछि नष्ट गरिएको विभागले जनाएको छ।
ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित ईरानी चियामा पूर्ण लेबल विवरण नभएका डोनट र फ्रुट सिरप फेला परेको, भान्सामा फोहोरदानी खुला राखिएको तथा सरसफाइ सामान्य अवस्थामा रहेको पाइएको छ। लेबल नभएका खाद्य वस्तु फिर्ता गर्न लगाइएको र नियमित सरसफाइ गर्न निर्देशन दिइएको विभागले जनाएको छ।
त्यसैगरी, काठमाडौंको नयाँ बसपार्कस्थित कृष्णा अर्पण सप्लिमेन्ट एण्ड ब्युटी स्टोरमा उपभोक्ताको गुनासोअनुसार सेरेलेकमा कीरा भेटिएन। तर, सोही ब्याचका दुई थान सेरेलेक बिक्री शाखामा फेला परेपछि प्रयोगशाला परीक्षणका लागि नमूना संकलन गरिएको छ।
काठमाडौं महानगरपालिका–१४ स्थित ८८एस.जी. नेपाल प्रालि.८८मा भण्डारण प्रणाली अव्यवस्थित रहेको, उत्पादनको लेबलमा सामग्री सम्बन्धी विवरणमा त्रुटि रहेको तथा स्टोरमा खाद्य पदार्थ नहटाई रंगरोगन गरिएको पाइएको विभागले जनाएको छ। कम्पनीलाई भण्डारण प्रणाली व्यवस्थित गर्न, लेबलमा प्रयोग गरिएको वास्तविक सामग्री मात्र उल्लेख गर्न तथा मर्मत वा रंगरोगनका बेला खाद्य पदार्थलाई संक्रमणबाट सुरक्षित राख्न निर्देशन दिइएको छ।
विभागले अनुगमनका क्रममा भेटिएका कमजोरी तत्काल सुधार गर्न सम्बन्धित व्यवसायलाई निर्देशन दिएको तथा आवश्यक थप अनुसन्धान र कानुनी कारबाही सम्बन्धित निकायमार्फत अघि बढाइने जनाएको छ।
प्रतिक्रिया