असारको बिजुली बिलमा तिरेको भ्याट फिर्ता हुँदै

२०८३ साउन १२ गते

असारको बिजुली बिलमा तिरेको भ्याट फिर्ता हुँदै

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले असार महिनाको विद्युत खपतमा ग्राहकबाट असुल गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) आगामी भदौ महिनाको विद्युत बिलमा समायोजन गर्ने निर्णय गरेको छ। आर्थिक ऐन, २०८३ अनुसार विद्युत सेवामा भ्याट लागू भएपछि देखिएको अन्योल अन्त्य गर्दै प्राधिकरणले यसबारे स्पष्ट व्यवस्था सार्वजनिक गरेको हो।
 

साउन १ गतेदेखि प्राधिकरण भ्याटमा दर्ता भएपछि त्यसयता जारी हुने विद्युत बिलमा भ्याट समावेश गरिएको थियो। तर, साउनमा वितरण भएका अधिकांश बिल असार महिनाको विद्युत खपतका भएकाले असारसम्मको खपतमा पनि भ्याट लाग्ने हो कि होइन भन्ने विषयमा ग्राहकबीच अन्योल देखिएको थियो।

Advertisement:

Ad
Ad

 

यस विषयमा आन्तरिक राजस्व विभागसँग समन्वय गरेपछि असार ३२ गतेसम्मको विद्युत खपतमा भ्याट नलाग्ने स्पष्ट भएको प्राधिकरणले जनाएको छ। साउन १ गतेअघिको विद्युत उपभोगलाई आधारभूत आवश्यकताअन्तर्गत राखिएकाले उक्त अवधिको खपतमा भ्याट छुट हुने व्यवस्था रहेको विभागको निष्कर्ष छ।

 

यसबीच असारको बिलमा समावेश गरिएको भ्याटसहितको रकम धेरै ग्राहकले भुक्तानी गरिसकेका छन्। प्राधिकरणका अनुसार त्यस्तो भ्याट रकम फिर्ता नगरी अग्रिम भुक्तानी का रूपमा राखिनेछ र आगामी भदौ महिनाको बिलमा समायोजन गरिनेछ। अर्थात्, भदौमा तिर्नुपर्ने कुल विद्युत महसुलबाट असारमा तिरिएको भ्याट बराबरको रकम कट्टा हुनेछ।