२०८३ साउन ०७ गते
काठमाडौँ । बिहीबार नेप्सेमा सुधारसहित बन्द भएको छ। अघिल्लो कारोबार दिन करेक्सन भएको बजारले बिहीबार कारोबार अवधिभर उतारचढाव देखाए पनि अन्तिम समयमा बजार बढेको छ। यस दिन नेप्से परिसूचक १४.१७ अंकले उकालो लाग्दै २७२६.७२ विन्दुमा पुगेको छ।
परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। बुधबार ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा बिहीबार ३३८ स्टकका ५७ हजार ७८२ कारोबारमार्फत १ करोड ७७ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार रुपैयाँमा सीमित भएको छ।
यस दिन एभरेष्ट कलर लिमिटेडको शेयरमा लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य ७३ रुपैयाँ ८० पैसा बढेर ५६६ रुपैयाँ ६० पैसामा पुगेको छ। यस्तै, स्नो रिभर्सको शेयरमूल्य १३.५ प्रतिशतभन्दा बढी र एपोलो हाइड्रोपावरको करिब ११ प्रतिशतले बढेको छ। विपरीततर्फ, कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रह्यो। कम्पनीको २८ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि आँखुखोला जलविद्युत कम्पनीको करिब २७ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। उपसमूहगत प्रदर्शनतर्फ १३ मध्ये ११ उपसमूह हरियालीमा रहे भने दुई उपसमूह घटेका छन्। व्यापार उपसमूह सर्वाधिक २.५८ प्रतिशतले उकालो लाग्दा जलविद्युत उपसमूह पनि १ प्रतिशतभन्दा बढीले बढेको छ। यता, लगानी र अन्य उपसमूह भने सामान्य गिरावटमा बन्द भएका छन्।
प्रतिक्रिया