काठमाडौ । सरकारले नयाँ गभर्नर छनौट समित गठन गरिसकेको छ । यस अघि खासै चर्चा नगरिएको पात्र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीको गभर्नर बन्ने सम्भावना पछिल्लो विकसित घटनाक्रमले अधिक देखिएको छ । गभर्नरको बलियो दाबेदार र बढी सम्भावना भनिएको राष्ट्र बैंककै डेपुटी गभर्नर डा. निलम ढुंगानाको चर्चा चुलिएको बेला उच्च स्रोतले भने गभर्नरमा अर्थतन्त्रलाई नजिकबाट बुझेका अधिकारीको सम्भावना रहेको बताउँछ ।
गभर्नरको चर्चामा नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी देखि बहालवाला कर्मचारीसम्म, केहि बैकर्स र पुर्व अर्थसचिव समेत शक्तिकेन्द्र धाइरहेको बेला अन्तिम समयमा अधिकारीको चर्चा चुलिएको छ ।उसो त आयोगको उपाध्यक्ष भनेको गभर्नर भन्दा माथिल्लो पद हो । तर सरकार परिवर्तन सँगै यो पदका व्यक्तिहरु पनि परिवर्तन हुने भएकाले गभर्नरमा आकर्षण छ । गभर्नर भन्दा माथिल्लो पदमा रहेका अधिकारीलाई बाणिज्यपोष्टले गभर्नर पाउनुभयो भने उपाध्यक्ष पद त्यागिदिनुहुन्छ भनेर सोधेको प्रश्नमा अधिकारीले सकारात्मक संकेत दिएका छन् । उनले गभर्नर पाँच बर्षका लागि हुने भएकाले आफुजस्तो काम गर्ने मान्छेका लागि त्यहाँ काम देखाउँने अवसर हुने बताए । यद्यपि पार्टीले चाह्यो भने गभर्नर बन्न तयार रहेको उनले बताएका छन् ।
यदि आयोगको उपाध्यक्ष भइसकेका अधिकारी गभर्नर बने भने माथिल्लो पदबाट तल झरेको यो नै पहिलो घटना हुनेछैन । यसअघि राष्ट्रिय आयोगका उपाध्यक्ष भएका व्यक्ति डा. यूवराज खतिवडा पनि गभर्नर बनेका थिए । गभर्नर ग्ल्यामर पद भएकाले यसमा पुग्न जो केही मरिहत्ते गर्छन भन्ने पुष्टि भइसकेको छ । गभर्नर देशको ढुकुटीको व्यवस्थापन गर्ने व्यक्ति भएकोले यस पदमा अनुभव र योग्यता चाहिन्छ भन्नेमा एमाले र कांग्रेसको नै एकै मत छ । तर अहिले गभर्नरको चर्चामा रहेका पात्रहरु धेरैजसो राष्ट्र बैंकमा जोडिएका/जोडिइसकेका पात्र हुन् ।देशको मुद्रामा हस्ताक्षर गर्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर हो । जो बैंक तथा वित्तिय संस्थाहरुको नियामक पनि हो । यसकारण पनि यो आकर्षक पद हो । सरकारको ढुकुटी रहने राष्ट्र बैंकलाई बैंकहरुको पनि बैंक भनिन्छ । नयाँ जारी हुने नोटमा राष्ट्र बैंकका गर्भनरको हस्ताक्षर रहन्छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !