काठमाडौँ । मन्त्री परिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै सरकारमै रहेको दल कांग्रेसका नेताहरुको टीप्पणी आउन थालेको छ । पार्टीबाट सहमति नगरी मन्त्रीपरिषद्मा संलग्न केही मन्त्रीहरुको ठाडो निर्देशनमा कुलमानलाई हटाइएको भन्दै कांग्रेस नेता विश्वप्रकाश शर्मा र महामन्त्री गगन थापाले प्रतिवाद गरेका छन् ।
सामाजिक सञ्जालमा विश्वप्रकाश शर्माले लेखेका छन्, ‘कुलमान घिसिङलाई पदबाट हटाउन काँग्रेस पदाधिकारी तहको सहमति थिएन बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रुपमै सजग गराइएको थियो कार्वाही योग्य केही भए, पछि पनी गर्न मिल्थ्यो केही राम्रा प्रयास छायांमा पार्ने गरी सरकारले कुलमान हटाउनु हुन्न थियो सरकारको यो निर्णय समयोचित विल्कुलै भएन असन्तुष्टिलाई निराशाको भास्य बनाएर, प्रतिगमनको खेती गर्नेहरुलाई निरुत्साहित गर्नुपर्ने बेलामा सरकारले गलत निर्णय जो लियो, यसप्रती खुला र प्रष्ट रूपमा विमति छ ।’
त्यस्तै महामन्त्री गगन थापा लेख्छन्, ‘आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ?’हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने?मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो।तर विडम्बना त्यो भएन,निर्णय गलत छ,सरकार, उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन।’
सरकारमै रहेको दलका प्रभावशाली नेताहरुले पोखेको आक्रोश हेर्दा लाग्छ, अव गठबन्धन सरकारभित्र असन्तुष्टि बढ्ने छ । हुन सक्छ सरकारमा दरार पैदा गर्न सक्छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक आगामी साउन मसान्तमा स्वतः अवकाश पाउने अवस्थामा थिए । तर उर्जामन्त्री खड्का र परराष्ट्र मन्त्री आरजु राणाको दवावमा मन्त्री परीषद् बैठकले सोमबार कुलमानलाई हटाएर प्राधिकरणकै पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !