काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रलाई व्यवस्थित बनाउनका लागि आफूले काम थालिसकेको बताएका छन् । नेपाल बीमा प्राधिकरण कर्मचारी यूनियनले आयोजना गरेको विशेष अधिवेशनमा बोल्दै ओझाले बीमा क्षेत्रमा भएका समस्या समाधान गरेर जाने प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा विभिन्न बीमा कम्पनीका कर्मचारी युनियनबाट आएका प्रतिनिधीहरुले कर्मचारीका हकहितमा नयाँ अध्यक्षले विविध कदम चाल्न दिएका सुझावलाई सम्बोधन गर्ने क्रममा उनले कर्मचारीका लागि आवश्यक विनियमावली बनाउने विषयमा काम थालनी भइसकेको बताए ।
अध्यक्ष ओझाले हिजो भएका असल अभ्यासलाई निरन्तरता दिएर कमी कमजोरी सँच्याउँदै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।उनले भने, ‘परिस्थिती परिवर्तन हुँदै जाँदा हरेक क्षेत्रमा नयाँ नयाँ समस्याहरु आइरहन्छन् त्यसैले निरन्तर सुधारको आवश्यकता हुन्छ, त्यसमा हामी सबैको संयुक्त पहल र प्रयास आवश्यक हुन्छ ।’
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले कर्मचारी युनियनमा देखिएका समस्या र प्राधिकरण व्यवस्थापनबीच छलफल गरेर समाधान गर्न आफू सदैव तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे । उनले भने,’कर्मचारी युनियनलाई हाम्रो र राम्रो भन्ने बनाउन आवश्यक छ, त्यसमा समन्वय गरेर अघि बढ्न सकिन्छ ।’
कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीका युनियनबाट कर्मचारीहरुको उपस्थिती रहेको थियो । अधिकांश वक्ताहरुले बीमा क्षेत्रको दायरा फराकिलो बन्दै जाँदा बीमा क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक रहेको औँल्याएका थिए ।
भिडियो-
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !