काठमाडौँ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा भारी अङ्कको गिरावट आएको छ । मङ्गलबार नेप्से परिसूचक ५१.११ विन्दुले घटेर २७०२.६५ अंकमा आएको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.८५ प्रतिशतले घटेको हो ।
यस दिन नेप्सेका १३ उपसमूहमध्य १३ उपसमूहकै परिसूचक घटेको छ । यस दिन सर्वाधिक घट्ने उपसमूहमा हाइड्रोपावर उपसमूह रह्यो जसको परिसूचक ३.२१ प्रतिशतले घटेको छ । त्यस्तै होटल तथा पर्यटन उपसमूह ३.१९ प्रतिशत, विकास बैंक २.५८ प्रतिशत, फाइनान्स २.५७ प्रतिशत त्यस्तै लगानी उपसमूह २.०८ प्रतिशतले घटेका छन् ।
नेप्से परिसूचक दोहोरो अंकले घटेसँगै मंगलबार कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन ११ अर्ब ७२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०२ स्टकको एक लाख १३ हजार पटकको कारोबारमा १० अर्ब ४६ करोड बराबरको किनबेच भएको छ । जसमा २० कम्पनीका शेयर बढेका छन् भने २२४ कम्पनीका शेयर घटेका छन् । त्यस्तै, एक कम्पनीको शेयर भने स्थिर रहेका छन् ।
यस दिन सर्वाधिक बढ्नेमा आत्मनिर्भर लघुवित्त रह्यो जसको शेयर सर्किट लेभलमा कारोबार भएको छ। त्यसै गरी सर्वाधिक घट्नेमा जानकी फाइनान्स र गुराँस लघुवित्त रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुपको सर्वाधिक कारोबार भएको छ । ङादी ग्रुपको आज ४६ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, मङ्गलबार भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा पनि सोहि कम्पनी रह्यो जसको आठ लाख ८८ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !