काठमाडौँ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आगामी भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा ‘नाडा अटो शो २०२४’आयोजना गर्ने भएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै नाडाले नाडा अटो शो २०२४ मा सवारी साधन, पार्ट्स पुर्जा, वित्तीय सेवा, र अन्य सम्बन्धित संघ-संस्थाहरूका विभिन्न ब्रान्डहरूको १३० वटा स्टल रहने जनाएको छ ।
६ दिनसम्म चल्ने उक्त प्रदर्शनीमा करिब ७५ हजार अवलोकनकर्ताको सहभागिता रहने बताइएको छ । यस वर्षको शोमा २४ चारपाङ्ग्रे, १९ दुईपाङ्ग्रे, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू सहित कुल ९५ प्रदर्शकहरूले भाग लिनेछन्। प्रदर्शनीलाई चार पांग्रे, दुई पांग्रे, हल्का व्यावसायिक सवारी साधन, अटो कम्पोनेन्ट र वित्तीय संस्थाहरूमा विभाजन गरिएको छ।
अटो शोको प्रमुख प्रायोजकको रूपमा टाटा ईभी र सह-प्रायोजकको रूपमा शिखर इन्स्योरेन्स रहनेछन्। शोमा हिरो जुम स्कूटरले डोर प्राइजको आकर्षण थप्नेछ भने खल्ती एप टिकेटिङ पार्टनरको रूपमा रहनेछ, जसले टिकट खरिदमा २० प्रतिशत क्यासब्याक सुविधा समेत प्रदान गर्नेछ।त्यसैगरी इन्टरनेट पार्टनरमा वर्ल्डलिंक रहनेछ ।
प्रदर्शनीमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण लगायतका विशेषज्ञ ३३ कम्पनीहरू र ७ वित्तीय संस्थाहरू सहभागी हुनेछन्, जसले अनुकूल वित्तीय समाधानहरू प्रस्तुत गर्नेछन्।
नाडा अटो शो २०२४ समितिका कार्यवाहक संयोजक अनुपकुमार बरालले जारी गरेको विज्ञप्तिमा नेपालको अटोमोबाइल क्षेत्रलाई प्रभावित गरेको हालको आर्थिक मन्दीलाई, नाडा अटो शो २०२४ले पुनर्जीवित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उल्लेख छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !