काठमाडौं । धितोपत्र दोस्रो बजारमा प्रतिकित्ता २ हजार १५४ रूपैयाँ शेयरमूल्य रहेको नेपाल फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । पछिल्लो कारोबार दिन कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको थियो । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष १० प्रतिशतले खुद नाफा घटेको छ ।
अघिल्लो वर्षको चौथो त्रैमाससम्म २ हरोड १ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष १ करोड ८१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष इम्पेरमेन्ट चार्ज वापत्को २ करोड ५० लाख रूपैयाँभन्दा बढी रकम फिर्ता पाएको कम्पनीले गत वर्ष भने इम्पेरमेन्ट चार्ज वापत् ६२ लाख ५८ हजार रूपैयाँ छुट्याएको छ । इम्पेरमेन्ट चार्ज वापत्को रकम छुट्याउनु परे पनि गत वर्ष कम्पनीको सञ्चालन आम्दानी अघिल्लो वर्षभन्दा बढी भएकाले सञ्चालन नाफा बढेको देखिन्छ । अघिल्लो वर्ष १३ करोड ७९ लाख रूपैयाँभन्दा बढी रहेको सञ्चालन आम्दानी गत वर्ष १४ करोड ६१ लाख रूपैयाँभन्दा बढी भएको हो ।
सञ्चालन नाफा बढेको कम्पनीको गत वर्ष २ करोड ५८ लाख रूपैयाँ कर खर्चका कारण खुद नाफा भने घटेको हो । खुद नाफामै रहेको कम्पनीको वितरणयोग्य नाफा भने २० करोड ८२ लाख रूपैयाँभन्दा बढी ऋणात्मक छ । हाल कम्पनीको चुक्तापूँजी ७२ करोड ९९ लाख ६ हजार रूपैयाँ छ । शेयर प्रिमियममा ५ करोड १० लाख रूपैयाँ रहेको कम्पनीको जगेडा कोष रकम भने ४३ करोड १० लाख रूपैयाँभन्दा बढी रहेको छ । गत वर्ष कम्पनीको निक्षेप संकलन ४१ दशमलव ४४ प्रतिशत बढी भएको छ भने कर्जा प्रवाह करिब ५५ प्रतिशत बढेको छ । कम्पनीले १२ महिनामा गत वर्ष २ अर्ब ५५ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने २ अर्ब १ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
निष्क्रिय कर्जा अघिल्लो वर्ष १२ दशमलव १६ प्रतिशत रहेको कम्पनीको गत वर्ष घटेर ९ दशमलव ११ प्रतिशत कायम छ । प्रतिशेयर आम्दानी २ रूपैयाँ ४८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३७ रूपैयाँ ५२ पैसा छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !