चितवन । गत शुक्रबार बिहान साँढे तीन बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सिमलताल पहिरोमा परेर बस दुर्घटनाबाट ज्यान गुमाएका मध्ये हालसम्म पांँचवटा शव भेटिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार ती मध्ये तीनवटा शवको सनाखत भइसकेको छ भने दुईवटा शवको पहिचान हुन बाँकी छ ।
शनिबार भेटिएका तीनमध्ये एउटा शव चितवन माडी नगरपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र गोलाघाटमा भेटिएको शव भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह भएको पुष्टि भएको प्रजिअ इन्द्रदेव यादवले जानकारी दिए ।
ती शव गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा शनिबार भेटिएका दुईवटा र भरतपुर महानगरपालिका–२८ गोलाघाटमा भेटिएका थिए ।
हालसम्म भरतपुर वडा नम्बर २८ गोलाघाटमा भेटिएका थप दुईवटा शवको पहिचान नभएको प्रजिअ यादवले जानकारी दिनुभयो । दुबै वटा बसमा गरी चलान भएका र नभएका यात्रुहरूको टिकट समेत गरी ६५ जना यात्रु रहेको अनुमान गरिएको छ । ती मध्ये तीन जनाले पौडिएर ज्यान जोगाएका थिए ।
काठमाडौँबाट गौर आउँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा बगेका थिए । आज पनि पहिरो खसेको सिमलताल र नारायणी नदी क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर खोजी भइरहेको छ । हालसम्म पनि दुर्घटनामा परेका दुईवटा बस भेटिएका छैनन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !