काठमाडौं । बेलायतका नयाँ प्रधानमन्त्री केइर स्टार्मरले लेबर पार्टीको भारी जितपछि प्रधानमन्त्रीको पदभार ग्रहण गरेसँगै आफ्नो मन्त्र्पिरिषद विस्तार गरेका छन् ।
प्रधानमन्त्रीको पदभार ग्रहण गरेको केही घण्टापछि नै उनले आफ्नो सरकार विस्तार गरेका हुन् । स्टार्मरको २५ सदस्यीय मन्त्रिपरिषद्मा ११ जना महिलालाई नियुक्त गरिएको छ । प्रधानमन्त्री स्टार्मरले एन्जेला रेनरलाई उपप्रधानमन्त्री नियुक्त गरेका छन् भने अश्वेत नागरिक डेभिड ल्यामीलाई नयाँ विदेशमन्त्री र जोन हेलीलाई रक्षामन्त्री नियुक्त गरेका छन् ।
नयाँ प्रधानमन्त्री स्टार्मरले शुक्रबार रेचेल रिभ्सलाई महिला अर्थमन्त्री नियुक्त गर्नुका साथै चान्सलरको जिम्मेवारी दिएका छन् । उनी बेलायतमा अर्थमन्त्रीको भूमिका निर्वाह गर्ने पहिलो महिला बनिन् । स्टार्मरले सबाना महमुदलाई न्यायमन्त्रीमा नियुक्त गरेका छन् । त्यस्तै यभेट कुपरलाई क्याबिनेटमा आन्तरिकमन्त्री नियुक्त गरिएको छ ।
गत ४ जुलाईमा भएको निर्वाचनमा ६ सय ५० सदस्यीय संसद्मा बहुमतका लागि ३ सय २६ सिट चाहिनेमा लेबर पार्टीले ४ सय १२ सिट जितेको छ । सत्तारुढ कन्जरभेटिभ पार्टीले १ सय २१ सिट मात्र जितेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !