विराटनगर । बायोमेट्रिक माध्यमबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको पहिचान गर्ने उद्देश्यले प्रशिक्षक प्रशिक्षण तालिम विराटनगरमा शुरु भएको छ ।
नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागको आयोजनामा शुरु भएको दुई दिने तालिममा विभाग तथा स्थानीय तहका सामाजिक शाखामा कार्यरत कर्मचारीको सहभागिता रहेको छ ।
सामाजिक सुरक्षाका लाभग्राहीलाई बायोमेट्रिक भेरीफिकेसन प्रणालीमा जोडने उद्देश्यले तालिम शुरु भएको हो । सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीमा आबद्ध लाभग्राहीलाई यो प्रणालीमा जोड्दै सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउने सरकारको उद्देश्य रहेको छ ।
लाभग्राहीलाई राष्ट्रिय परिचयपत्रको माध्यमबाट सेवा पुर्याउने उद्देश्यले विभागले दुई चरणमा यो प्रणाली लागु गर्न लागेको हो । पहिलो चरणमा आगामी साउनदेखि २८ जिल्लाका ३ सय ३३ पालिकामा तथा दोस्रो चरणमा माघदेखि यो प्रणाली लागु हुने राष्ट्रिय परिचयपत्र पन्जीकरण विभाग सामाजिक सुरक्षा शाखाका निर्देशक सेवराज सेढाईले बताए ।
उनका अनुसार कोशी प्रदेशमा १ सय ३७ वटा पालिकाका १ हजार १ सय ५७ वटा वडामा आबद्ध लाभग्राहीहरूमा यो प्रणाली लागु हुनेछ । कोशी प्रदेशमा ४ लाख ९९ हजार १ सय ६३ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका छन् । यहाँ करिब साँढे ४५ लाख जनसङ्ख्यामध्ये १५ दशमलव ३४ प्रतिशत जनसङ्ख्या सामाजिक सुरक्षा भत्ताको दायरमा छन् ।
नेपाल सरकारले ज्येष्ठ नागरिक, एकल महिला, बिधुवा महिला, दलित बालबालिका तथा अपाङ्गता भएकाहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । सरकारले स्थानियतह मार्फत त्रैमासिक रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !