काठमाडौँ । सरकारले आधा वर्षमै डेढ खर्ब बढी ऋण ल्याएको छ । सरकारले चालु आव २०८०/८१ को ६ महिनामा १ खर्ब ६२ अर्ब ५८ करोड रुपैयाँ ऋण लिएको तथ्यांकले देखाएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समीक्षा अवधिमा सरकारले १ खर्ब २८ करोड ३१ लाख रुपैयाँ आन्तरिक ऋण उठाएको छ । बाह्य ऋण भने ३४ अर्ब २७ करोड ४९ लाख मात्रै देखिएको छ ।
आन्तरिक ऋणको तुलनामा बाह्य ऋण सस्तो हुन्छ । बाह्य ऋण परिचालन गर्न सकेमा सरकारलाई व्याजको भार कम हुन्छ । तर, सरकारले बाह्य ऋण धेरै उठाउन नसकेको देखिन्छ । आफ्नो खर्च धान्न सरकारले महँगो ब्याजमा आन्तरिक ऋण उठाएको तथ्याङ्कले पुष्टि गरेको छ ।
यस्तै, समीक्षा अवधिमा सरकारले ९३ अर्ब ५६ करोड ६४ लाख रुपैयाँ आन्तरिक ऋण तिरेको छ । त्यसमा ५९ अर्ब ३७ करोड साँवा र ३४ अर्ब १९ करोड रुपैयाँ व्याज भुक्तानी गरेको छ ।
यसै गरी २३ अर्ब १ करोड ४१ लाख रुपैयाँ भने बाह्य ऋण तिरेको छ । त्यसमा १८ अर्ब ७ करोड ९८ लाख सावाँ र ४ अर्ब ९३ करोड ४३ लाख रुपैयाँ व्याज भुक्तानी भएको छ । समग्रमा सरकारले यस अवधिमा ७७ अर्ब ४५ करोड १४ लाख सावाँ भुक्तानी गरेको छ ।
गत आवको अन्त्यसम्म सरकारको कुल बाँकी ऋण ९साँवा मात्र० २२ खर्ब ९९ अर्ब ३५ लाख थियो । त्यसमा चालु आवको ऋण प्राप्ति र भुक्तानी समायोजन गर्दा नेपाल सरकारको तिर्न बाँकी ऋण २३ खर्ब ८४ अर्ब ४८ करोड पुगेको छ । त्यसमा ११ खर्ब ९८ अर्ब ४ करोड आन्तरिक ऋण तिर्न बाँकी छ । साथै, ११ खर्ब ८६ अर्ब ४४ करोड रुपैयाँ बराबरको बाह्य ऋण भुक्तानी गर्न बाँकी देखिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !