'अब पेन्सन खान सरकारी जागिर नै  खानुपर्छ भन्ने छैन जुनसुकै जागिर गर्नेले पेन्सन पाउँछन्'

२०८२ कात्तिक २४ गते

'अब पेन्सन खान सरकारी जागिर नै  खानुपर्छ भन्ने छैन जुनसुकै जागिर गर्नेले पेन्सन पाउँछन्'

काठमाडौ ।  सुरक्षित र आकर्षित जागिरको रुपमा चित्रण गरिएको सरकारी जागिर जसमा पेन्सन नै सबैको आकर्षणको केन्द्र हुने गरेको थियो र अझै पनि छ । तर पछिल्लो ६ वर्षयता निवृत्तिभरण नेपाली समाजको परिकल्पनालाई कार्यान्वयन गरिरहेको सामाजिक सुरक्षाकोषले पेन्सन खान सरकारी जागिर नै खानुपर्छ भन्ने मान्यतालाई विस्तारै चिरिरहेको छ । जुनसुकै जागिर खाएपनि सामाजिक सुरक्षाकोषमा आवद्ध भए पेन्सन पाइने अवस्था आएको छ । जुन लक्ष्यका साथ कोष खुलेको थियो उक्त लक्ष्यमा  पुग्न भने कोषले ठुलै मेहनत गर्नुपर्ने अवस्था पनि छ । यसै सन्दर्भमा सामाजिक सुरक्षाकोषको आवद्धता, पेन्सन कसरी पाउन सकिन्छ, सरकारी पेन्सन र कोषको पेन्सनमा के फरक छ भन्ने विषयमा बााणिज्यपोष्टले कोषका कार्यकारी निर्देशक कविराज अधिकारीसँग गरेको  कुराकानीको सम्पादित अंश :


सामाजिक सुरक्षा कोषमा जुन हिसाबले आवद्धताको अपेक्षा गरिएको थियो त्यसो भएको छैन । हालसम्म आबद्ध योगदानकर्ताको संख्यालाई आधार मान्ने हो भने कतिको सन्तुष्ट मान्न सकिन्छ  ?

Advertisement:

Ad
Ad


 अहिले २२ हजारभन्दा बढी रोजगारदाता सामाजिक सुरक्षाकोषमा आवद्ध हुनुहुन्छ । ६ लाख ६० हजार औपाचारिक क्षेत्रको योगदानकर्ता तथा  वैदेशिक सहित झण्डै साढे २५ लाख योगदानकर्ता आबद्ध भइसकेका छन् । उनीहरुबाट झण्डै ९२ अर्ब बराबरको रकम संकलन भएको छ भने विभिन्न सुविधा मार्फत १७ अर्ब रकम भुक्तानी भइसकेको छ । स्थापनाकालको ६ वर्ष पुरा हुँदा यो अवस्था हुनु भनेको सन्तोषजनक हो । यसमा औपचारिक, अनौपचारिक, वैदेशिक, स्वरोजगार सबैलाई लक्षित गरेर योजनाहरु आएका छन् । आबद्धताको संख्या दिनानुदिन बढ्दै छ । सुविधाहरु पनि थपिदैछन् । 


कुनै पनि कुरा शुरु हुने बित्तिकै सबैले स्विकार्छन भन्ने हुदैनन् । त्यसका लागि समय लाग्छ । अन्र्तराष्ट्रिय अभ्यास नै यहि हो । नयाँ विषयमा अभ्यस्त हुन समय लाग्छ । शुरु—शुरुमा धेरै खालका विरोध, चुनौती हुन्छ । पछिल्लो आर्थिक वर्षमा पनि झण्डै एक हजार रोजगारदाता आबद्ध भएका छन् । कोषका विषयमा अहिले पनि विभिन्न खालको सोधपुछ भइरहेका छन् । विभिन्न फोरममा गएर प्रचारप्रसार गराउँने काम गरिरहेका छौ । अर्गानिक हिसाबले आवद्धताको संख्या बढीरहेको छ । 

 

तपाइहरुजस्तै सञ्चयकोष, नागरिक लगानी कोष छ । ती कोषहरुलाई छोडेर सामाजिक सुरक्षा कोषमा नै योगदानकर्ता किन आवद्ध हुनुपर्छ ? 


सामाजिक सुरक्षाकोषको विषयलाई लिएर बजारमा दोधारजस्तो देखिएको छ । किनभने नागरिक लगानीकोषकोे क्षेत्र भनेको स्वेच्छिक बचतको क्षेत्र हो । त्यहाँ स्वेच्छिक  तरिकाले जान सकिन्छ । कर्मचारी सञ्चयकोषमा नीजामती क्षेत्रका कर्मचारीहरु छन् । उनीहरुको अवकास रकम सञ्चयकोषमा जम्मा हुन्छ । तर अन्य नीजि क्षेत्रका र प्रतिष्ठान सामाजिक सुरक्षकोषमै आवद्ध हुनुपर्छ । सामाजिक सुरक्षकोषको अवधारणा छुट्टै छ । यसले सामाजिक सुरक्षा प्रदान गर्दछ । कोख देखि शोकसम्मका सुरक्षाका कार्यक्रम यसमा छ । सुत्केरी, बिरामी, अंगभंग हुँदा तथा बृद्धभत्तासम्मका कुरा यसमा छन् । श्रमिकको जीवनमा आइपर्ने विभिन्न जोखिम बहन हुन्छ । उदाहरणको लागि कोही मान्छे अंगभंग भएको छ  भने कोषले उसको उपचारको खर्च मात्र दिदैन उसलाई अशक्त बृत्ति भनेर भत्ता दिन्छ । मृत्युभएमा उसको सम्पूर्ण पैसा फिर्ता दिन्छ । उसँग आश्रित श्रीमान वा श्रीमतीको मृत्यु भएमा आधारभुत तलबको ६० प्रतिशत पेन्सन आजीवन दिने गरेको छ । त्यस्तै १८ बर्षभन्दा कम उमेरका छन भने शैक्षिक बृत्तिबापत २१ बर्षसम्म दिन्छ ।  

 

कतिपयको सोच सामाजिक सुरक्षाकोषमा जानु भनेको स्वास्थ्य उपचारका लागि सहजता मात्र हुन्छ भन्ने बुझाई पनि छ । यसको बहुआयामिक फाइदाको विषयमा बुझाउँन तपाईहरु चुक्नुभएको हो ?

यसलाई औषधी उपचारमात्र भनेर बुझियो भने गलत हुन्छ । यो सँगै श्रीमान, श्रीमती र परिवारलाई पनि कभर गर्छ । घातक रोगको छुट्टै योजना छ । रोजगारीजन्य दुर्घटना रहेको छ ।  अरु नियमति आम्दानीको लागि पनि सहयोग हुन्छ । 

पेन्सनको लोभमा अधिकांशको रोजाई सरकारी जागिर पथ्र्यो अब पेन्सन खान कै लागि सरकारी जागिरमा भौतारिरहनु पर्ने अवस्था छैन । तर कतिपयलाई पेन्सन कसरी दिन्छ भन्ने अन्यौल छ यसमा के भन्नु हुन्छ ?


जागिर भन्ने वित्तिकै लोकसेवामा लड्ने, सरकारी जागिर खाने र पछि पेन्सन खाने भन्ने आम मानिसको बुझाइ अझै छ । हाम्रो समाज नै यस्तो छ की सरकारी जागिर लाई सुरक्षित मानिन्छ । यसको कारण भनेको  पेन्सन नै हो ।  तर अब सामाजिक  सुरक्षाकोषका कारण जुनसुकै जागिर खानेले पेन्सन पाउन सक्ने अवस्था आएको छ ।  चाहे त्यो होटलमा काम गर्ने होस वा जुन सुकै अनौपचारिक क्षेत्रमा काम गर्ने होस । हामी निवृत्तिभरण समाजको परिकल्पनामा काम गरिरहेका छौ । निजामति कर्मचारीले पेन्सन उसको तलबको आधारमा सरकारको कोषबाट पाउँछन भने सामाजिक सुरक्षाकोषमा योगदानकर्ताको जम्मा भएको रकमको आधारमा पेन्सन पाइन्छ । 


योगदानकर्ताले जम्मा गरेको रकमले प्राप्त गरेको ब्याज, कोषले लगानी गरेकोबाट आएको प्रतिफल जोडेर आउने जम्मा रकमलाई १६० ले भाग गर्दा आउने रकम मासिक पेन्सन हुन्छ । अवकाश पछिको पहिलो महिनामा यो रकम कायम भएपनि त्यसपछि  महंगीअनुसार बढ्दै बढ्दै जान्छ ।  पेन्सन खान ६० वर्षको उमेर हुनुपर्छ । यदि पेन्सन पाएको ७ वर्षभित्र नै योगदानकर्ताको मृत्यु भएमा उसको श्रीमान वा श्रीमतीले पुरा पेन्सन पाउछन् । त्यसपछि भने आधा रकम पाउनुहुन्छ ।  यदि श्रीमान श्रीमती दुबैको मृत्यु भएको खण्डमा भने १८ वर्ष मुनिका छोराछोरी छन् भने उनीहरुले पनि पेन्सन पाउँछन् । 

 

पेन्सन ६० वर्षपछि मात्र पाइन्छ, यदि कसैले ५० वर्षमै १५ वर्ष योगदान गरेको छ भने उसले पेन्सन पाउँन अर्को १० वर्ष कुर्नुपर्ने हो ?


उदाहरणको लागि ५० वर्षको मानिसले योगदान गर्न शुरु गर्यो र १० वर्षपछि ६० वर्षको भयो भनेपनि उसले पाउँछ । तर त्यसमा पेन्सन रकम थोरै हुनसक्छ । सामाजिक सुरक्षाकोषमा अवकाश योजनाको रकम र बृद्धअवस्था योजनाको रकम रहेको छ । अवकाश योजनाको रकम जागिर छोड्नेवित्तिकै निकाल्न पाइन्छ र अर्को पेन्सनकोषको चाहि मासिक पेन्सन रकम पाइन्छ । यो भनेको बुढेसकालको आयको निरन्तरता हो । पेन्सन खान ६० बर्ष हुनैपर्छ । 

पहिले योगदानकर्तामा मात्र सिमित कोषको सुविधा पछि योगदानकर्ताको श्रीमान/ श्रीमती, छोरा/छोरीसम्म पुर्याइएको छ । अब योगदानकर्ताको बाबु आमालाई चाहि कहिले समेट्ने ? 


औषधी उपचारका लागि अहिले श्रीमान÷श्रीमती र छोराछोरी मात्र छन् । धेरै भन्दा धेरै योगदानकर्ता आएर धेरै रकम जम्मा भएको अवस्थामा बाबु आमाको औषधीउपचार पनि हेर्न सकिएला तर अहिले तत्काल योजना छैन । 

सरकारले आफ्ना करार तथा अस्थायी कर्मचारीलाई कोषमा आवद्ध गर्ने भनेको थियो, किन अड्कियो ?


यसको बारेमा छलफल भइरहेको छ । मन्त्रालयमा छलफल भइरहेको थियो । अहिले सरकार परिवर्तन र नयाँ टिम भएकाले उहाँहरुले पनि छलफल गर्नुहोला । 

सामाजिक सुरक्षा कोषमा धेरै भन्दा धेरैलाई समेट्ने विषयमा कस्तो गृहकार्य गरिरहनु भएको छ ?


सामाजिक सुरक्षा किन कसरी आउनुपर्छ भनेर  छलफल गरिरहेका छौ । कतिपय संघसंस्थाका कर्मचारीले हाम्रो संस्थालाई पनि आवद्ध गराइदिनु भनेर निवेदन समेत दिइरहेका छन् । उनीहरुको संस्थामा गएर बुझाउँने काम गरिरहेका छौ । सामाजिक सुरक्षाका विषयमा लेख्ने कतिपय मिडिया पनि आवद्ध छैनन ।  श्रमजीवि पत्रकार ऐन अन्र्तगत धेरै मिडियाहरुले श्रमिकलाई सुविधा दिएका छैनन । श्रम नीति मिडियाले पालना नगरेकाले उनीहरु आउन सकेका छैनन । सामाजिक सुरक्षा कोषले ल्याएका योजना अन्र्तराष्ट्रिय श्रम संगठनको प्रावधान अनुसार नै छ ।  योगदानकर्ताको संख्या बढ्दै गएपछि सुविधाहरु पनि थप हुँदै जान्छ ।