२०८३ असार १४ गते
रौतहट । आफ्नी अर्धाङ्गिनीको जीवन बचाउन आफूसँग भएको सर्वस्व गुमाइसकेपछि एक सर्वसाधारणले परोपकारी मनहरूसमक्ष आफ्नो आँसु र विवशता पोख्दै आर्थिक सहयोगको अपिल गरेका छन् ।
रौतहटको गरुडा नगरपालिका–२ गेडहीगुठी निवासी ईनरदेव सहनी (अनिश) ले आफ्नी ३) वर्षीया बिरामी पत्नी पूजा देवीको थप उपचारका लागि हारगुहार गरेका हुन् ।पूजा देवी विगत केही वर्षदेखि रगतसम्बन्धी अत्यन्तै दुर्लभ र जटिल रोग ‘आईटीपी’(इडियोप्याथिक थ्रोम्बोसाइटोपेनिक पर्पुरा) सँग मृत्युको लडाइँ लडिरहेकी छिन् ।
आफ्नो सिन्दूरको रक्षाका लागि ईनरदेवले नेपाल र भारतका अस्पतालहरू चहारिसकेका छन् ।वीरगञ्जको नारायणी अस्पताल र नेशनल मेडिकल कलेज, भरतपुर अस्पताल, काठमाडौंको सिभिल अस्पताल र नेपाल मेडिकल कलेज, अनि भारतको पटनास्थित पीएमसीएच, इन्दिरा गान्धी अस्पताल, मुजफ्फरपुरको प्रशान्त मेमोरियल अस्पताल, चण्डीगढ र नयाँदिल्लीस्थित एम्स अस्पतालसम्म पुगेर पूजाको उपचार गराइयो। तर, लाखौं खर्च गर्दा पनि उनको स्वास्थ्यमा सोचेजस्तो सुधार आउन सकेको छैन ।
‘श्रीमतीलाई बचाउन मैंले आफ्नो भएभरको सबै सम्पत्ति सिद्ध्याएँ,’ ईनरदेवले गहभरी आँसु पार्दै भावुक स्वरमा भने, ‘उपचारकै क्रममा घरको करिब १५ कठ्ठा जग्गा बेचिसक्यौं। गोठका साना-ठूला पशुचौपाया पनि बेचेर उपचारमा लगायौं। अहिले हामी बस्ने यो एउटा ओत लाग्ने घरबाहेक संसारमा केही बाँकी छैन।’
विभिन्न अस्पताल धाउँदा धाउँदै अहिलेसम्म ३५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । यति धेरै सम्पत्ति प्रयास बालुवामा पानी हाले सरह भएपनि ईनरदेवले हिम्मत हारेका छैनन्। हालै दिल्लीस्थित एम्स अस्पतालका चिकित्सकहरूले पूजा देवीको ज्यान जोगाउन अब अन्तिम विकल्पको रूपमा ‘बोन म्यारो ट्रान्सप्लान्ट’(अस्थिमज्जा प्रत्यारोपण) गर्नुपर्ने सुझाव दिएका छन् ।
तर, समस्या यहाँनेर छ कि उक्त जटिल प्रक्रियाका लागि मात्रै थप करिब ६) लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । घरको सम्पत्तिको नाममा शून्य भइसकेका ईनरदेवका लागि ६) लाख रुपैयाँ आकाशको फल जस्तै बनेको छ । पैसाको अभावमा आफ्नी आँखा अगाडि छटपटाइरहेकी जीवनसंगिनीलाई मृत्युको मुखमा सुम्पन विवश उनी यतिबेला सहयोगी मनहरूको बाटो हेरिरहेका छन् ।
आर्थिक सहयोग गर्न इच्छुक महानुभावहरूले ईनरदेव सहनीले सार्वजनिक गरिएको ई–सेवा क्यूआर कोड मार्फत सिधै रकम जम्मा गर्न सकिन्छ ।
प्रतिक्रिया