किड्नी फेल र जेल जीवनको प्रसंग निकाल्दै कार्यक्रममै यसरी हँसाए प्रधानमन्त्रीले

२०८२ वैशाख २५ गते

किड्नी फेल र जेल जीवनको प्रसंग निकाल्दै कार्यक्रममै यसरी हँसाए प्रधानमन्त्रीले

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जेल जीवनको भोगाई र त्यसले स्वास्थ्यमा पारेको प्रतिकुलताको विषयमा उजागर पारेका छन् । बिहीबार आयोजित कुष्ठरोग निवारण सम्वन्धी एक कार्यक्रममा स्वास्थ्यबारे सबैलाई सजगता अपनाउन आग्रह गर्दै प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य कसरी बिग्रन पुग्यो भन्ने फेहरिस्त पोखे ।  

 

Advertisement:

Ad
Ad

उनले भने,'मेरो किड्नी किन खराब भयो भन्दा लापरबाहीले होइन । जेल जीवनमा थिएँ डेढ महिना राखेर चुटेको चुट्यै गर्ने, खाना पनि नदिएपछि अनि स्वास्थ्य कहाँबाट मेन्टेन हुन्छ ? चिसो गोलघरभित्र भुुइँमा बसेको ठाउँमा तलबाट पानी पलाउँछ, अनि स्वास्थ्य कहाँबाट ठीक हुन्छ ? नेल हत्कडी लगाएको छ, घाउ नै घाउ भएको छ, धन्न त्यो फलामको नेलबाट घाउमा ठोकिएर टिटनस आदि इत्यादि भएन संयोगको कुरा हो ।' 

 

उनले हलको सन्नाटालाई चिर्न व्यंग्यात्मक पारा झिक्दै अगाडि भने, 'त्यसबेला दिनको ७५  पैसा दिन्थ्यो, दाल किन्नुस्, तरकारी किन्नुस् मरमसला किन्नुस्, साबुुन किन्नुस्, मञ्जन किन्नुस्, ब्रस किन्नुस् भनेर । दाँत हामी कसरी सफा गर्दथ्यौं भने, एउटा ब्रस किन्यो, त्यो पनि महंगो किन्न सकिंदैनथ्यो, सस्तो किन्यो । दुुई चार दिनमा ब्रस सबै पछाडि फर्किन्छ ... ब्रस त सिधा हुन्छ नि, पछाडि फर्किन्छ दातमा जुन पर्दथ्यो, त्यसमा ब्रसको फेदको भाग पर्दथ्यो ।' हलमा गलल हाँसो गुन्जियो । 

 

पीडामै पनि स्रोतालाई थप हँसाउन उद्दत भए प्रधानमन्त्री, 'टुुथपेस्टको ट्युव हामीले निचोरेको देख्ने हो भने सबै मान्छे छक्क पर्दथे । त्यो सिद्धिएपछि पनि त्यसलाई निर्चोदा निर्चोदा .... नयाँ किनौं पैसा छैन, त्यही पनि आउँछ कि भनेर त्यसको घाँटी मर्काएर चलाउँथ्यौँ , खैर ती दिन नसम्झिऔं, सम्झिदा अलिअलि रमाइलो पनि लाग्छ ।' 

 

यत्तिकैमा थोरै भावुक हुँदै अगाडीका पीडा सुनाउन भ्याए,  'त्यहाँबाट मलाई क्षयरोग लाग्यो । औषधि छैन, खाना छैन, अल्सर भयो, औषधि छैन, खाना छैन । अनि कहाँबाट स्वास्थ्य राम्रो हुनुु ? पेटभरी घाउँ भएर दुुखेर असैह्य हुन्छ । भतभति पोल्छ, घाउँबाट रगत आउँछ । पेन किलर दिन्छ, त्यो खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ त ? मेरो किड्नी फेल हुनुको अर्थ पेन किलरले हो । सहनै नसकेर पेन किलर खाएको छ । अहिले नै मरियो भने पछि के गर्ने, पछि उपचार जे सुकै भए पनि के गर्ने ? अहिले बाँची हालौं, पेन किलरको असरपछि हेरौंला भनेर । 

 

प्रधानमन्त्री ओलीले स्वास्थ्य जोगाउन सबैसँग आग्रह गर्दै आहार बिहार र व्यायाममा सबैलाई ध्यान दिन आग्रह गरे ।