२०८२ माघ २१ गते
डा.रमिला शिल्पकार ।
क्यान्सरका विभिन्न उपचार पद्धतिमध्ये एउटा हो सिस्टेमिक थेरापी । यसअन्तर्गत किमोथेरापी, टार्गेटेड थेरापी, इम्युनोथेरापी र हर्मोनल थेरापी पर्छन् । नर्भिकमा क्यान्सरको शल्यक्रियासँगै सिस्टेमिक थेरापीको सेवा पनि उपलब्ध छ ।
किमोथेरापी
क्यान्सरमा सबैभन्दा पहिला सुरु भएको उपचार पद्धति किमोथेरापी हो । यसमा औषधीको माध्यमबाट क्यान्सरको कोष नष्ट गरिन्छ, जसअन्तर्गत सुईमार्फत् र मुखबाट गरी दुईथरि औषधी दिइन्छ । यो औषधी रगतमा पुगेपछि सबै प्रकारका बढ्ने कोष नष्ट हुन्छन् ।
क्यान्सरको उपचारका क्रममा कपाल झर्छ भन्ने सबैलाई थाहा छ । कपालको जरामा बढ्ने कोष हुन्छन् । त्यस्ता कोष किमोथेरापीले मार्ने भएकाले कपाल झर्ने गरेको हो । सबै किमोथेरापीले कपाल झर्दैन, तर अधिकांश किमोथेरापीले कपाल झर्न सक्छ ।
अर्को बढ्ने कोष सेतो रगत हो । किमोथेरापीले रगतको कोष कम हुँदा शरीरमा रोगप्रतिरोधी क्षमता पनि कम हुन्छ । यस्तै खाना नलीमा बढ्ने कोषलाई पनि नष्ट गर्न सक्छ । किमोथेरापीले राम्रा र नराम्रा दुवै प्रकारका बढ्ने कोषलाई नष्ट गर्छ । त्यसैले किमोथेरापी गराइरहेका बिरामीलाई संक्रमण तथा रोगबाट बचाउन विशेष ध्यान दिनुपर्छ ।
टार्गेटेड थेरापी
क्यान्सरको उपचारमा आएको नयाँ उपचार विधि हो टार्गेटेड थेरापी । कुनै जीनमा परिर्वतन भएमा क्यान्सर हुन्छ । त्यो जीनको परिवर्तनले हुने असरलाई ‘ड्राइभर म्युटेसन’ भनिन्छ । टार्गेटेड थेरापीले सोही ड्राइभर म्युटेसनलाई निस्क्रिय गर्छ । जीनले प्रोटिन बनाउने गर्छ । टार्गेटेड थेरापीले परिवर्तित प्रोटिन वा परिवर्तित जीनलाई नष्ट गर्छ । यसमा मुखबाट खाने र सुईबाट दिने दुवै प्रकारका औषधी हुन्छन् । फोक्सोको क्यान्सरमा टार्गेटेड थेरापी विधिबाट उपचार गर्न सकिन्छ ।
इम्युनोथेरापी
हरेक दिन शरीरका कोष बिग्रिन सक्छन् तर सबै क्यान्सर हुँदैनन् । किनकि शरीरमा भएका सेतो रगतका विशेष कोषहरुले परिवर्तित भएका कोष नष्ट गरिदिन्छन् । तर, क्यान्सरका कोष निकै आक्रामक हुन्छन् । यसले हाम्रो शरीरका सेता रक्तकोषको कार्यलाई नै असर पार्छ, जसलाई ‘इम्युन सर्भिलेन्स’ भनिन्छ । हाम्रो शरीरको प्रतिरोधी प्रणालीले पनि नराम्रा कोषहरुलाई नष्ट गरिरहेको हुन्छ । इम्युनथेरापीको काम त्यही रोग प्रतिरोधात्मक प्रणालीलाई फेरि सक्रिय बनाउने हो औषधी हो । हाम्रो शरीरमा टी–सेल भन्ने सेतो रगत हुन्छ । यसले शरीरमा हुने नराम्रो कोष पत्ता लगाउँछ । इम्युनोथेरापीले निस्क्रिय भएर बसेको टी–सेललाई सक्रिय बनाउने काम गर्छ, जसले गर्दा क्यान्सरका कोषहरुलाई टी–सेलले नराम्रो कोष भनेर पहिचान गर्छ र रोग प्रतिरोधात्मक प्रणाली विकास गरी क्यान्सर नष्ट गर्छ ।
हर्मोनल थेरापी
कतिपय क्यान्सरहरु हर्मोनमा निर्भर हुन्छन्, जस्तो प्रोस्टेटको क्यान्सर । उमेर बढ्दै जाँदा प्रोस्टेट ग्रन्थीमा कुनै कारणले क्यान्सर हुँदा क्यान्सरका कोषहरुलाई हर्मोनले बढाउँछ । यस्तो अवस्थामा हर्मोनको असर घटाउन दिइने औषधीलाई हर्मोनल थेरापी भनिन्छ । फैलिसकेको क्यान्सर छ भने अण्डकोष नै फाल्ने शल्यक्रिया पनि गरिन्छ र हर्मोनको औषधी दिइन्छ । यसले टेस्टोस्टेरोन हर्मोनलाई निस्क्रिय पार्छ र क्यान्सर पनि नियन्त्रण गर्छ । हर्मोनल थेरापी स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरमा बढी प्रयोग हुन्छ । यो थेरापी लामो समयसम्म पनि दिइन्छ ।
(डा. रमिला शिल्पकार नर्भिक अस्पतालमा कन्सल्टेन्ट मेडिकल अंकोलोजिष्टको रुपमा कार्यरत हुनुहुन्छ । )
प्रतिक्रिया