२०८२ जेठ १९ गते
काठमाडौँ । चीन र अमेरिकाको सम्बन्ध चिसिएको निकै लामो समय भैसकेको छ । विश्वव्यापारमा बलियो उपस्थिती रहेको अमेरिकालाई चीनले उछिन्न खोजेपछि अमेरिका चीन विरोधी गतिविधीमा लागेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपतिका रुपमा उदाएसँगै अमेरिकाले चिनियाँ बस्तुहरु निस्तेज पार्न भारी मात्रामा कर लगाएको छ । बदलामा चीनले पनि अमेरिकी बस्तु आयातमा उच्चा दरमा कर लगाएको छ । यी दुई मुलुकबीच उत्पन्न ब्यापारिक लडाइँले विश्वभरीनै उत्पादन र बिक्रीमा असर पुग्ने भएपछि अमेरिकाले चीनसँग वार्ता गरेर कर घटाउँदै लैजाने नीति अनुरुप चीनलाई वार्तामा आह्वान गरेको थियो । सोही बमोजिम हालै स्विट्जरल्याण्डको जेनेभामा यी दुई देशबीच ब्यापारिक सहमति भएको थियो । यद्यपि अहिले चीनले अमेरिकाले सहमति पालना नगरेको आरोप लगाएको छ ।
अमेरिकाले जेनेभामा भएको चीन–अमेरिका आर्थिक तथा व्यापार वार्तामा भएको सहमतिलाई गम्भीर रूपमा कमजोर बनाएको चीनको वाणिज्य मन्त्रालयले जनाएको छ । अमेरिकाले धेरै भेदभावपूर्ण प्रतिवन्दहरु लगाएको चीनको आरोप छ । मन्त्रालयका प्रवक्ताका अनुसार एआई चिप निर्यात नियन्त्रणमा मार्गदर्शन जारी गर्ने, चिप डिजाइन सफ्टवेयरको बिक्री रोक्ने र चिनियाँ विद्यार्थीहरूको भिसा रद्द गर्ने घोषणा गर्ने जस्ता विभेदपूर्ण निर्णयहरु गरेको छ । जनवरी १७ मा दुई राष्ट्रप्रमुखहरू बीच भएको फोन वार्तामा भएको सहमतिको गम्भीर उल्लङ्घन चीनको भनाइ छ । चीनको वैधानिक अधिकार र हितलाई गम्भीर रूपमा हानि पु¥याएको प्रवक्ताको भनाइ छ ।
संयुक्त राज्य अमेरिकाले एकतर्फी र बारम्बार नयाँ आर्थिक र व्यापारिक नीतिहरु अघि बढाएकाले द्विपक्षीय आर्थिक र व्यापारिक सम्बन्धमा अनिश्चितता र अस्थिरतालाई बढाएको चीनको भनाइ छ । चीनले जेनेभा वार्तामा भएको सहमतिलाई गम्भीरतापूर्वक लिएर, यसलाई कडाइका साथ कार्यान्वयन गर्दै र सक्रिय रूपमा समर्थन गर्दै जिम्मेवार ढंगले काम गरेको दाबी समेत गरेको छ ।
प्रतिक्रिया