आइफोन लुट्न खोज्दा आफ्नै साथीबाट हत्या

२०८३ साउन १० गते

आइफोन लुट्न खोज्दा आफ्नै साथीबाट हत्या

बागलुङ । पश्चिम बागलुङको बडिगाड गाउँपालिकामा मृत अवस्थामा फेला परेका १७ वर्षीय लजिन थापाको आइफोन मोबाइल लुट्ने उद्देश्यले आफ्नै साथीबाट हत्या भएको रहस्य खुलेको छ ।

गत साउन १ गते शुक्रबार साँझ सोही ठाउँका साथी असिम वनको जन्मदिन मनाउन भनि घरबाट निस्किएका बडिगाड गाउँपालिका वडा नं. १ थानका लजिन थापा नौ दिनपछि शनिबार बिहान सवा नौ बजे सोही वडाको मनखोलामा मृत फेला परेका थिए ।

Advertisement:

Ad
Ad

जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

पक्राउ पर्नेमा बडिगाड–१ का २० वर्षीय रेमबहादुर बिक, सोही ठाउँका १९ वर्षीय सुदीप बिक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददि परियार छन् ।

शव नभेटिएपछि व्यक्ति बेपत्ता पार्नेमा उनीहरु संलग्न भएको आशङ्कामा प्रहरीले पाँच दिन अघि नै पक्राउ गरेको थियो ।

अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेकोमा शनिबार मात्र शव भेटिएपछि प्रहरीले उनीलाई कर्तव्य ज्यान मुद्दा लगाउने तयारी गरेको प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईँले बताए ।

घटना हुनुअघि साथी असिम वनको जन्मदिन मनाउन लजिनसँगै सुदीप, रेम, ददिसहित ६ जनाले बडिगाड–१ स्थित दगाम्तुम्डाँडा प्राथमिक विद्यालयमा बसि शनिबार बिहान साढे २ बजेसम्म मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।

‘‘शनिबार बिहान ४ बजे घर फर्किने क्रममा रेम, ददि र लजिनबीच आइफोनको विषयमा झगडा भएको देखिन्छ’’ प्रहरी उपरीक्षक प्रसाईंले पत्रकार सम्मेलनमा भने,‘‘आइफोन लुट्ने क्रममा लजिनमाथि मुक्का र ढुङ्गा प्रहार हुँदा ज्यान गएको देखिन्छ ।’’

कुटपिटबाट ज्यान गएपछि लजिनको साथमा रहेको मोबाइल लुटेर ददि र रेमबहादरले मनखोलामा लगेर शव लुकाएका थिए ।

शव लुकाएपछि मोबाइल साथमा राख्दा प्रहरीले शङ्का पाउने भन्दै लजिनकै साथ राखिदिएको समेत आरोपीले प्रारम्भिक बयानमा स्वीकारेको प्रहरी उपरीक्षक प्रसाईंले बताए ।

काठमाडौँमा ठुलोबाबुसँग बसि साइपल कलेजमा अध्ययन गर्ने लजिन कक्षा ११ को परीक्षा सकेर नागरिकता बनाउने योजनासहित घर आएका थिए । लजिन बोमबहादुर थापा र देउमाया थापाका एक्ला छोरा हुन् ।