बालेन पत्नीलाई सुरक्षाका लागि सादा पोशाकमा प्रहरी दिइएको भन्ने गलत हो : एसपी खड्का

२०८२ माघ २१ गते

बालेन पत्नीलाई सुरक्षाका लागि सादा पोशाकमा प्रहरी दिइएको भन्ने गलत हो : एसपी खड्का

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहकी पत्नी सविना काफ्लेलाई सादा पोसाकका महिला प्रहरी खटाइएको भन्ने विषयमा मिडियामा आएका समाचारहरू असत्य भएको झापा प्रहरी प्रमुख बसुन्धरा खड्काले स्पष्ट पारेकी छन्।

 

Advertisement:

Ad
Ad

“उम्मेदवारको पत्नीलाई सिभिल पोसाकमा प्रहरी, त्यो पनि महिला प्रहरी खटाइयो भन्ने कुरा मिडियामा धेरै आयो,” प्रहरी प्रमुख खड्काले भनिन्, “तर यसमा कुनै सत्यता छैन भन्ने कुरा मैले स्पष्ट रूपमा भनिसकेकी छु।”उनका अनुसार उम्मेदवारलाई निजी सुरक्षा अङ्गरक्षक खटाउने निर्णय जिल्ला सुरक्षा समितिको सिफारिस र खतराको मूल्याङ्कनका आधारमा मात्र गरिन्छ। “यदि माग आएर खतराको मूल्याङ्कनपछि पीएसओ आवश्यक ठहरिएमा मात्र खटाइन्छ,” उनले बताइन्।

 

प्रहरी प्रमुख खड्काले सामान्य अवस्थामा उम्मेदवारको पत्नी घर–गाउँमा हिँडिरहेको समयमा सादा पोसाकका प्रहरी खटाउने व्यवस्था नहुने स्पष्ट पारिन्। “त्यस्तो व्यवस्था न त आवश्यकता पर्छ, न त हाम्रो प्रोटोकलले नै अनुमति दिन्छ,” खड्काले भनिन्।

 

उनले तथ्यविहीन हल्ला र अपुष्ट समाचारले भ्रम फैलाउने भएकाले सुरक्षासम्बन्धी विषयमा आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरिन्।