माओवादी द्वन्दका बेला भन्दा पनि बढी ध्वंश २ दिनमा भयो : कांग्रेस प्रवक्ता महत

२०८२ भदौ २५ गते

माओवादी द्वन्दका बेला भन्दा पनि बढी ध्वंश २ दिनमा भयो : कांग्रेस प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले सशस्त्र द्वन्दका १० वर्षमा भएका क्षतिभन्दा पनि बढी जेनजीको आन्दोलनका दौरान भएको बताएका छन् । साथै उनले विरोध प्रदर्शनका क्रममा भएको मानवीय क्षतिप्रति गहिरो दुःख रहेको बताएका छन् ।

 

Advertisement:

Ad
Ad

उनको सचिवालयमार्फत भर्खरै प्राप्त वक्तब्य अनुसार उनले भनेका छन्, धेरै युवाहरु र केहि सुरक्षाकर्मिहरुले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था हामी सबैकालागि अत्यन्त दुखदायी छ, मृतकहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दै बिरोध प्रदर्शन क्रममा भएको धनजनको ठुलो क्षति प्रति गम्भीर चिन्ता प्रकट गर्दछु ।
 

यस्तो छ उनको पुरा वक्तब्य
हिजो देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक बिरोधको मर्म र मान्यताबाट बाहिर गएको छ । देश,जनता र लोकतन्त्र प्रती प्रतिवद्द नवयुवाहरुले अवश्य पनि यस्तो चाहेका थिएनन । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ । म लगाएत धेरैको घर निजी सम्पति, उधोगव्यावसाय, सन्चारगृह लगायतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ । यो एक दिनको क्षति १० वर्षे माओवादीद्वन्दको बेला भन्दा धेरै बढी हो । यस्ले लगानिको बातावरण लाई पनि बिगारेको छ र क्षतिपुर्ती गर्न वर्षौ र ठुलो लगानी लाग्ने निश्चित छ । त्यस्तै, पार्टी सभापति शेरबहादुर देउवा लगायत अन्य नेताहरू माथि भएको सांघातिक आक्रमणको घोर निन्दा तथा भत्र्सना गर्दछु ।
देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा छ । राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा अमनचयन कायम हुन जरुरी छ
। 
प्रिय साथीहरू,
कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन । यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ । लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणका लागि हामी सबै फेरि सक्रिय हुन आवश्यक छ । नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दो शक्ति हो भन्ने कुनै दुबिधा छैन । पार्टिले अन्य लोकतन्त्र र संविधान प्रती प्रतिवद्द दलहरु संग तत्काल संवाद गर्न आवश्यक छ । त्यसैले शान्ति, सुरक्षा,संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपति ज्युको अगुवाईमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्न आवश्यक छ । 
जय नेपाल !