देशको वित्तिय स्वास्थ्य कस्तो छ,  हेरौ आठ सुचकमा

२०८२ कात्तिक ३० गते

देशको वित्तिय स्वास्थ्य कस्तो छ,  हेरौ आठ सुचकमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमास (साउन—असोज) मा देशको वित्तिय स्वास्थय मापन गर्ने अधिकांश सुचक स्वस्थ देखिएको छ । 


महंगी घटेको, विदेशी मुद्राको सञ्चिती बढेको, चालु खाता र सोधानान्तर स्थिती बचतमा रहेको, आयात निर्यात बढेको तथ्यांक सरकारी निकायले  सार्वजनिक गरेको छ । देशको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकको तथ्यांकले  न्युन कर्जा परिचालन,  घट्दो ब्याजदर, रेमिट्यान्स र विदेशी मुद्रा सञ्चितीको बढ्दो अवस्था रहेको देखाएको छ  ।

Advertisement:

Ad
Ad


हेरौ देशको वित्तिय स्वास्थ्य

घट्दो महंगी
आम सर्वसाधारणको चासो र गुनासोको विषय हो महंगी । चरम महंगीको मारमा परेको गुनासो गर्ने सर्वसाधारणको भोगाईलाई केन्द्रिय बैंकले गलत सावित गरेको छ । यसको पुष्टी तथ्यांकले गरेको छ । केन्द्रिय बैंकका अनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत रहेको छ । यो भनेको अघिल्लो  वर्षको तुलनामा निकै कम हो । अघिल्लो वर्षको यसै अवधिमा  मुद्रास्फीति ४.८२ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनाको औसत मुद्रास्फीति १.६७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.२६ प्रतिशत रहेको थियो ।

 

आयात निर्यात दुबैमा बृद्धि

योे तीन महिनामा कुल वस्तु निर्यात ८९.६ प्रतिशतले बढेर.७२ अर्ब ७८ करोड रुपैयाँ पुगोको छ । यो गत वर्षको भन्दा बढी हो ।  भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः १३७.९ प्रतिशत र ३.८ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ६६.१ प्रतिशतले कमी आएको छ । नेपालले भटमासको तेल, पाम तेल, जुटका सामान, अलैंची, पोलिष्टर धागोलगायतका वस्तुको निर्यात बढी गरेको देखिन्छ । जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, पिनालगायतका वस्तुको निर्यात भने घटेको छ ।


यस्तै कुल वस्तु आयात १९.८ प्रतिशतले बढेर.४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । भारत, चीन र अन्य मुलुकबाट हुने आयात ७.५ प्रतिशत, ३३.४ प्रतिशत र ४६.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, सुन, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, दूरसञ्चारका उपकरणलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, लसुन, तेलहन, पेट्रोलियम पदार्थ लगायतका वस्तुको आयात घटेको देखिन्छ  । यो सँगै वस्तु व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।

 

तीन महिनामै साढे ५ खर्ब रेमिट्यान्स
नेपालमा तीन महिनाको अवधिमै साढे ५ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ । असोज एक महिनामा मात्रै २ अर्ब १ अर्ब बढी रेमिट्यान्स आएको देखिन्छ । तीन महिनामा ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ ।

 

चालु खाता र सोधानान्तर स्थितीको उच्च बचत


देशको चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष यस्तो खाता १ खर्ब १५ अर्ब ३६ करोडले बचतमा रहेको थियो । निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका चालु प्रकृतिका आर्थिक कारोबारको नै चालु खाता सन्तुलन हो । चालु खाता घाटा वा बचतमा रहन सक्छ । चालु खाता घाटाले अन्य देशहरूबाट खुद सापटी लिइएको र चालु खाता बचतले अन्य देशहरूलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ । चालु खाताअन्तर्गत वस्तु तथा सेवा व्यापार खाता, आम्दानी खाता र ट्रान्सफर खाता रहेका हुन्छन् । 


यस्तै शोधनान्तर २ खर्ब ६४ अर्ब ३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको थियो । सोधानान्तर स्थितीले मुलुक भित्रने र बाहिरिने रकमको अन्तर देखाउँछ । मुलुकमा भित्रिनेभन्दा बाहिरिने रकमको परिमाण कम हुँदै गएपछि सोधानान्तर बचत हुन्छ । शोधनान्तर घाटामा रहँदा खासगरी विदेशी लगानी निरुत्साहित हुन्छ । यसकारण अहिलेको अवस्थामा सोधानान्तर स्थिती मजबुत देखिएको छ । 

 

लगातार उकालो लाग्दै विदेशी मुद्राको सञ्चिती


विदेशी मुद्रोको सञ्चिती निरन्तर बढीरहेको छ । असोज मसान्तसम्ममा २९ खर्ब ७९ अर्ब ८१ करोड  रुपैयाँ पुगेको छ ।  अमेरिकी डलरमा यस्तो सञ्चिति २१ अर्ब २१ करोड पुगेको छ । आर्थिक वर्ष २०८२÷८३ को तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु आयात र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

 

सरकारी खर्च र राजस्व संकलन बढ्दो


तीन महिनामा नेपाल सरकारको ३ खर्ब ६४ अर्ब ५९ करोड रुपैयाँ खर्च भएको  छ ।गत वर्षको यसै अवधिमा सरकारी खर्च ३ खर्ब २९ अर्ब १९ करोड रुपैयाँ भएको छ । यस्तै २ खर्ब ४९ अर्ब रुपैयाँ राजस्व उठेको छ । गत वर्ष यसै अवधिमा २ अर्ब ४८ अर्ब राजस्व संकलन भएको छ । तीन महिनामा सरकारको खातामा १ खर्ब ७४ अर्ब ९२ करोड रुपैयाँ मौज्दात रहेको छ । 

 

बढ्दो निक्षेप संकलन, घट्दो ऋण प्रवाह


तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.० प्रतिशत (२ खर्ब १८ अर्ब ७२ करोड) ले वृद्धि भई.७४ खर्ब ८२ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २.६ प्रतिशत (१७० अर्ब) ले बढेको थियो ।


यस्तै बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशत (८२ अर्ब ९३ करोड रुपैयाँ ) ले वृद्धि भई ५५ खर्ब ८० अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २.५ प्रतिशत (१ ख्र्ब २८ अर्ब ६५ करोड) ले बढेको थियो ।

 

घट्दो ब्याजदर 


असोजमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.८५ प्रतिशत, विकास बैंकहरूको ४.४५ प्रतिशत र वित्त कम्पनीहरूको ५.६२ प्रतिशत रहेको छ । गत वर्षको यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ५.२४ प्रतिशत, विकास बैंकहरूको ५.९४ प्रतिशत र वित्त कम्पनीहरूको ७.२१ प्रतिशत कायम भएको थियो ।


 त्यसैगरी, असोजमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७.५० प्रतिशत, विकास बैंकहरूको ८.७७ प्रतिशत र वित्त कम्पनीहरूको १०.१८ प्रतिशत रहेको छ । गत आवको यसै अवधिमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.३३ प्रतिशत, विकास बैंकहरूको १०.६३ प्रतिशत र वित्त कम्पनीहरूको ११.८६ प्रतिशत रहेको थियो ।