२०८२ वैशाख २९ गते
काठमाडौँ । वित्तीय पहुँच र डिजिटलाइजेसनको बिस्तारका कारण नेपालमा पूँजिबजारले बिस्तार पाउन थालेको छ । लगानीकर्ताहरु अन्य क्षेत्रभन्दा लगानीका लागि यसतर्फ आकर्षित हुन थालेका छन् । जुन नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक तथ्यांकले पनि पुष्टि गरेको छ । बजार पुँजिकरण, सूचिकृत कम्पनीहरुसँगै गत वर्ष भन्दा यस वर्ष नेप्से सूचकमा आएको वृद्धिले यो पुष्टि गर्दछ ।
२०८१ चैत मसान्तमा धितोपत्र बजार पुँजिकरण ४४खर्ब २५ अर्ब ४० करोड कायम भएको छ जवकि २०८० चैत मसान्तमा बजार पुँजीकरण ३२ खर्ब १२ अर्ब १करोड रहेको थियो । २०८१ चैत मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०८० चैतमा सूचीकृत कम्पनीहरूको संख्या २७२ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.७ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत ्कम्पनीको हिस्सा १५.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, होटेलको हिस्सा २.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.५ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ चैत मसान्तमा सूचीकृत ८ अर्ब ७२ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब ५९ अर्ब ४५ करोड रहेको छ । आर्थिक वर्ष २०८१÷८२ को नौ महिनामा रु.१९ अर्ब ७७ करोड बराबरको बोनस शेयर, रु.१५ अर्ब ४१ करोड बराबरको साधारण शेयर, रु.११ अर्ब ६५ करोड बराबरको हकप्रद शेयर, रु.१ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, रु.१० करोड ६९ लाख बराबरको एफपीओ र रु.३ अर्ब ९६ करोड बराबरको अन्य शेयर गरी कुल रु.५२ अर्ब १५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.११ अर्ब ६० करोड बराबरको म्युचुअल फण्ड, रु.१० अर्ब ३७ करोड बराबरको हकप्रद शेयर, रु.४ अर्ब ८२ करोड बराबरको डिबेन्चर र रु.१ अर्ब ७९ करोड बराबरको साधारण शेयर गरी कुल रु.२८ अर्ब ५८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
प्रतिक्रिया