नेपालको जेनजी आन्दोलन जस्तै चर्कियो भारतमा पनि , जन्तर–मन्तरमा कडा सुरक्षा व्यवस्था र १६ वटा मेट्रो स्टेशन बन्द

२०८३ साउन ०७ गते

नेपालको जेनजी आन्दोलन जस्तै चर्कियो भारतमा पनि  , जन्तर–मन्तरमा कडा सुरक्षा व्यवस्था र १६ वटा मेट्रो स्टेशन बन्द

काठमाडौं । भारतमा पनि नेपालको जेनजी आन्दोलनलाई  सम्झाउँने गरी आन्दोलन चर्किएको छ । ककरोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा जारी विरोध प्रदर्शनका कारण जन्तर–मन्तर क्षेत्रमा बिहीबार पनि कडा सुरक्षा व्यवस्था कायम राखिएको छ।  प्रदर्शनकारी र प्रहरीबीच तनाव चर्किएपछि जन्तर–मन्तरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

 

Advertisement:

Ad
Ad

दिल्ली मेट्रो रेल कर्पोरेशन (डीएमआरसी) ले बिहीबार बिहान ७ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्म १६ वटा मेट्रो स्टेशन बन्द गरिएको जनाएको छ। बन्द गरिएका स्टेशनहरूमा राजीव चौक, मण्डी हाउस, सेन्ट्रल सेक्रेटेरियट र सुप्रिम कोर्ट मेट्रो स्टेशन पनि छन्। यसअघि बुधबार पनि डीएमआरसीले १६ वटा मेट्रो स्टेशन बन्द गरेको थियो।

 

सीजेपीले बिहीबार बिहान दिल्ली प्रहरीले प्रदर्शनस्थल बाहिर पूर्ण रूपमा क्षतिग्रस्त एउटा कार ल्याएर राखेको आरोप लगाएको छ। पार्टीले यसको उद्देश्यमाथि प्रश्न उठाउँदै भनेको छ, यो कार यस्तै अवस्थामा यहाँ ल्याइएको हो भन्ने सबैले सम्झनुपर्छ। पछि शान्तिपूर्ण प्रदर्शनकारीलाई दोष लगाउन खोजे त्यसको प्रमाणका लागि अहिले नै अभिलेख राख्न आवश्यक छ। पार्टीले कारका तस्बिरसमेत सार्वजनिक गरेको छ, जसमा कारका झ्याल र अगाडिको सिसा फुटेको देखिन्छ।

 

बुधबार दिनभर प्रदर्शनस्थल अधिकांश समय शान्त रहे पनि संसद मार्ग क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। संसद मार्गतर्फ अघि बढेका प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो भने प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। उनीहरूले कनट प्लेसको मुख्य सडकमा प्रहरीलाई लखेटेका पनि थिए।

 

दिल्ली प्रहरीका अनुसार यस झडपमा दुई जना एसीपी, एक निरीक्षक, एक हेड कन्स्टेबल र एक कन्स्टेबल गरी पाँच जना प्रहरी घाइते भएका छन्।जलवायु अभियन्ता सोनम वाङ्चुकले बुधबार केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहले आफूलाई भेटेर प्रश्नपत्र चुहावट प्रकरणमा जवाफदेहिता सुनिश्चित गर्न संसदमा छलफल गराउने विषयलाई सरकारले सकारात्मक रूपमा विचार गर्ने आश्वासन दिएको बताएका छन्।

 

उनका अनुसार सरकारले शिक्षा मन्त्रीको राजीनामासहितका माग तथा कथित नीट  प्रश्नपत्र चुहावट प्रकरणपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई उचित क्षतिपूर्ति दिने विषय पनि विचार गर्ने जनाएको छ।


शिक्षामन्त्रीको राजीनामा नआएसम्म प्रश्नपत्र चुहावटबारे छलफल हुँदैन

सरकारले संसदमा प्रश्नपत्र चुहावटबारे छलफल गर्न तयार रहेको जनाएको भए पनि विपक्षी दलहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन्।राज्यसभामा विपक्षी दलका नेता तथा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले भने, शिक्षामन्त्रीले राजीनामा नदिएसम्म यस विषयमा कुनै छलफल हुँदैन। उहाँ पदमा रहँदासम्म निष्पक्ष छलफल सम्भव छैन।