२०८२ कात्तिक १० गते
नेपाल धार्मिक, सांस्कृतिक र भाषिक विविधताको देश हो। यहाँका हरेक पर्वले केवल भक्ति र आस्थाको प्रतीक मात्र होइन, सामाजिक एकता र सहअस्तित्वको सुन्दर सन्देश पनि दिन्छ। यही बहुरङ्गी संस्कृतिको मधुर संगीतभित्र एउटा अनुपम पर्व छ — सूर्य षष्ठी व्रत, जसलाई प्रायः छठ पर्व भनेर पनि चिनिन्छ। यो व्रत सूर्यदेव र उहाँकी शक्ति माता षष्ठी अर्थात् छठी मइया प्रति समर्पित हुन्छ।
‘सूर्य षष्ठी’ शब्दले नै यसको मर्म खोलिदिन्छ। ‘सूर्य’ जीवनका दाता, ऊर्जा र प्रकाशका स्रोत हुन् भने ‘षष्ठी’ संस्कृतमा छैटौँ तिथिको सूचक हो। त्यसैले शुक्ल पक्षको छैटौँ दिन सूर्यदेवको आराधना हुने भएकाले यसलाई सूर्य षष्ठी भनिएको हो। बिहार, झारखण्ड र उत्तर प्रदेशमा यो पर्व ‘छठ पर्व’ वा ‘दाला छठ’ नामले परिचित भए पनि नेपालमा यसले आफ्नै पहिचान र गहिरो सांस्कृतिक रंग पाएको छ।
पुराणहरूमा सूर्य उपासना र षष्ठी देवीको महिमा विस्तारले उल्लेख गरिएको छ। रामायणमा समेत श्रीराम र सीताले अयोध्या फर्किएपछि राज्यको कल्याणका लागि सूर्यदेवको आराधना गरेको प्रसङ्ग पाइन्छ। लोककथाअनुसार राजा प्रियव्रत र रानी मालिनीका सन्तान नहुँदा षष्ठी देवीको आराधनाले उनीहरूलाई सन्तान प्राप्त भयो, त्यसैबेला यो व्रतको परम्परा सुरु भएको मानिन्छ।
छठ व्रतको मुख्य उद्देश्य सूर्यदेव र छठी मइयाको आराधना गर्दै परिवारमा सुख, समृद्धि, दीर्घायु र स्वास्थ्यको कामना गर्नु हो। यस व्रतले श्रद्धालुलाई आत्म–संयम, शुद्धता र अनुशासनको बाटोमा लग्छ। व्रतालुहरू चार दिनसम्म अत्यन्त पवित्रता र कठोर नियमपालनसहित उपवास बस्छन्।
यो पर्व नेपालमा विशेषगरी मधेस प्रदेशमा गहिरो रूपमा प्रभाव जमाएको छ। जनकपुर, सर्लाही, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सिराहा र सप्तरीका घाटहरूमा यो पर्वले जीवन्त रूप पाउँछ। नदी, पोखरी र तालका किनारमा हजारौँ श्रद्धालुहरूको भीड लाग्छ, लोकगीत गुन्जिन्छन्, दियोहरू बल्छन् र वातावरण भक्ति र सौन्दर्यले भरिन्छ।
छठ केवल धार्मिक कर्मकाण्ड होइन; यो सामाजिक एकताको पनि प्रतीक हो। यस पर्वमा महिलाहरू प्रमुख भूमिकामा रहन्छन्। परिवारका सुख–समृद्धिका लागि उनीहरूले कठोर उपवास र संयम अपनाउँछन्। यसरी महिलाको श्रद्धा र धैर्यले सम्पूर्ण परिवारमा आस्था र अनुशासनको वातावरण बनाउँछ। व्रतालुलाई ‘पवनैतिन’ भनिन्छ, र उनीहरूको तपस्या नै यो पर्वको आत्मा हो।
प्रतिक्रिया