सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभियो

२०८२ साउन ०१ गते

सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभियो

वीरगञ्ज  । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ । साथै एकीकृत कार्यालयबाट सेवा प्रवाह पनि प्रारम्भ भएको छ । 

 

Advertisement:

Ad
Ad

यसअघि वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी थियो । त्यसैगरी सुक्खा बन्दरगाह भन्सार कार्यालय बेग्लै कार्यालयका रुपमा अस्तित्वमा थियो । एकीकृत जाँचचौकीमा मालवाहक सवारीसाधनबाट वैदेशिक व्यापारअन्तर्गतका वस्तु तथा सामान आयात–निर्यात गर्ने गरिन्छ । 

 

सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट यसअघि रेल्वे र्याकबाट सामान आयात र निर्यात हुने गरेको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले सङ्घीय सरकारको निर्णयअनुसार सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको बताए।

 

यसैबीच, सुक्खा बन्दरगाह भन्सार कार्यालय गत आर्थिक वर्षभरिमा रु ४९ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ ।