२०८२ असार २० गते
काठमाडौ । नेपालको सरकारी आम्दानीले सरकारकै खर्च थेग्नै नसक्ने विगत देखिकै अभ्यास यसपटक पनि दोहोरिएको छ । चालु आर्थिक वर्ष पनि सरकारी आम्दानीले खर्च धान्नै नसकेको तथ्यांक सरकारी निकायको छ । सरकारको आय व्ययको विवरण राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक बर्ष सकिन अब १२ दिन मात्र बाँकी छ ।
\असार २० गते (आज) सम्मको तथ्यांकलाई आधार मान्ने हो भने सरकारले आम्दानी भन्दा ३ खर्ब १९ अर्ब ११ करोड बढी खर्च गरेको छ । यस अवधिसम्म सरकारले १४ खर्ब १३ अर्ब ८५ करोड रुपैयाँ खर्च गरिसकेको छ । सरकारको सबैभन्दा ठुलो खर्च भनेकै कार्यालय सञ्चालन र कर्मचारी खर्च हो । यस शिर्षक अन्र्तगत ९ खर्ब ३५ अर्ब ९९ करोड रुपैयाँ खर्च भएको छ । यस्तै ऋणको सावाँब्याज भुक्तानीका लागि ३ खर्ब ११ अर्ब भन्दा बढी खर्च भएको छ ।
तर देशको विकासमा लगाउँने खर्च भने अत्यन्तै न्युन छ । विकास खर्च भन्दा अन्य खर्चहरु बढ्दा सरकारले बर्षेनी बजेट घाटा ब्यहोर्नु परेको छ । चालु आर्थिक वर्ष सकिन १२ दिन बाँकी हुँदा १० खर्ब ९४ अर्ब ७३ करोड रुपैयाँ आम्दानी गरेको छ । यसमा राजस्वबाट १० खर्ब ६२ अर्ब रुपैयाँ उठेको छ ।
गत वर्ष यो अवधिमा सरकारी ढुकुटी २ खर्ब ९४ अर्ब ८१ करोड रुपैयाँ घाटामा रहेको थियो अर्थात सरकारको आम्दानी भन्दा खर्च २ खर्ब ९४ अर्ब रुपैयाँले बढी हो । आम्दानीका स्रोत खुम्चिने र खर्चमा कुनै नियन्त्रण गर्न नसक्दा सरकारी ढुकुटी हरेक वर्ष घाटामा जाने गरेको छ ।
प्रतिक्रिया