२०८२ मंसिर ०१ गते
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अदालतले मृत्युदण्डको फैसला सुनाएको छ। गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलन दमन गर्न घातक बल प्रयोग र 'मानवताविरोधी अपराध' गरेको अभियोगमा बंगलादेशको विशेष अदालतले अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्यूनल (आईसीटी)ले सोमवार उनीसहित उनको मन्त्रिपरिषद्मा आन्तरिक मामिलामन्त्री असदुज्जमान खान कमल र तात्कालिक प्रहरी प्रमुख चौधरी अबुल्लाह अल-मामुनलाई गत वर्षका घटनामा दोषी ठहर गरेको हो।
इजलासको अध्यक्षता गरेका न्यायाधीशले उनीहरूविरुद्ध परेका सबै अभियोग र प्रहरी कारबाहीका क्रममा भएको हिंसा सविस्तार पढेर सुनाएका थिए।सत्ताच्युत भएपछि हसिना भारतमा छिन्। उक्त विशेष अदालतमा उनको अनुपस्थितिमै मुद्दा चलेको हो। उनले आफूविरुद्धका सबै आरोप अस्वीकार गर्दै आएकी छन्। फैसला हुँदा अदालतको कक्षमा वकिलहरू, मृतकका आफन्तहरू र सञ्चारकर्मीहरूसहित १०० जनाभन्दा बढी मानिस उपस्थित थिए। मृत्युदण्डको फैसला सुनाइँदा अदालतभित्र र बाहिर मानिसहरूले हर्षोल्लास गरेका थिए।
अदालतबाहिर एउटा सानो समूहले हसिनालाई फाँसी दिनुपर्ने भन्दै नाराबाजी गरेको थियो। अदालतको मर्यादा कायम राख्न आग्रह गरिएपछि भित्र भएका मानिसहरू केही बेरमै शान्त बनेका थिए।गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा सुरु भएर चर्किएको आन्दोलन उत्कर्षमा पुगेपछि हसिना सत्ता त्याग्न बाध्य भएकी थिइन्। संयुक्त राष्ट्रसङ्घको एउटा अनुमानअनुसार उक्त आन्दोलनका क्रममा १,४०० जनाको मृत्यु भएको थियो।
फैसला आउनुअघि शेख हसिनाको परिवारसँग जोडिएको एउटा स्थानमा पुगेका प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले स्टन ग्रिनेड प्रहार गरेको थियो। धनमण्डीस्थित उक्त स्थानमा हसिनाका पिताको पुरानो निवास छ।
प्रतिक्रिया