आज पहिलो राष्ट्रिय कोदो दिवस मनाइँदै,चामललाई विस्थापित गर्ने गरी उत्पादनमा लाग्न कृषिमन्त्रीको आग्रह

२०८२ साउन १६ गते

आज पहिलो राष्ट्रिय कोदो दिवस मनाइँदै,चामललाई विस्थापित गर्ने गरी उत्पादनमा लाग्न कृषिमन्त्रीको आग्रह

काठमाडौं। आज पहिलो राष्ट्रिय कोदो दिवस मनाइँदैछ। यस अवसरमा कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कोदो खेतीलाई बढावा दिन कृषकलाई आग्रह गरेका छन् । मन्त्री अधिकारीले खाद्यान्न आयात कम गर्न र निरोगी नेपाल निर्माणमा कोदो खेती प्रभावकारी हुने बताए। सरकारले श्रावण १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार आज पहिलो पटक दिवस मनाइएको हो।

 

Advertisement:

Ad
Ad

उनका अनुसार जलवायु परिवर्तनले उत्पन्न सुख्खा तथा खडेरी जस्ता परिस्थितिमा पनि कोदो उत्पादनमा असर नपर्ने भएकाले सरकारले बजेटसहित कोदो प्रवर्द्धनका कार्यक्रम अघि बढाएको छ। गत वर्ष २ लाख २५ हजार हेक्टरमा कोदो खेती भई ३ लाख मेट्रिक टनभन्दा बढी उत्पादन भएको र यस वर्ष उक्त तथ्यांक थप बढाउने योजना रहेको जानकारी पनि मन्त्री अधिकारीले दिए।

 

यसै सन्दर्भमा, मन्त्री अधिकारीले हरेक वर्ष ५० अर्ब रुपैयाँभन्दा बढीको चामल आयात हुने गरेको र यस वर्ष सुख्खाले २० प्रतिशत धान उत्पादन घट्ने अनुमान भएकाले कोदो उत्पादन अभियानमा सबै किसान सहभागी हुन जरुरी रहेको बताए।

 

मधेश प्रदेशमा ५ सयभन्दा बढी डिप ट्युबवेल जडान सुरु भइसकेको र सिँचाइ नहुने क्षेत्रमा पनि सुख्खामा लगाउन मिल्ने धानको जात प्रवर्द्धनको काम अघि बढाइएको जानकारी मन्त्रीले दिए।मन्त्री अधिकारीले २७ अर्ब ३६ करोड रुपैयाँ बराबरको मल खरिद भई वितरण भइरहेकाले अघिल्ला वर्षभन्दा गुनासो कम आएको दाबी गरे।

 

राष्ट्रसंघीय कृषि सम्वन्धी छलफलमा सहभागी भई हिजो मात्र स्वदेश फर्किएका मन्त्री अधिकारीले सम्मेलनमा जलवायु प्रकोप, वैकल्पिक खेती र खाद्य सुरक्षाबारे व्यापक छलफल भएको र विश्व समुदाय सहकार्यमा अघि बढ्ने सहमति जुटेको जानकारी पनि दिए।