बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको नयाँ पार्टी  ‘गतिशील लोकतान्त्रिक पार्टी’दर्ता,यस्तो छ पार्टीको नीति तथा दस्तावेज

२०८२ असोज ३१ गते

बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतको नयाँ पार्टी  ‘गतिशील लोकतान्त्रिक पार्टी’दर्ता,यस्तो छ पार्टीको नीति तथा दस्तावेज

काठमाडौं । हवाइृ कम्पनी बुध्द एयरका प्रमुख वीरेन्द्रबहादुर बस्नेतको नयाँ पार्टी  ‘गतिशील लोकतान्त्रिक पार्टी’बिहीबार निर्वाचन आयोगमा दर्ता भएको छ । बस्नेत सहितका व्यक्तिहरूले स्थापना गरेको नयाँ राजनीतिक दल ‘गतिशील लोकतान्त्रिक पार्टी’ ले मन्त्री, प्रधानमन्त्रीलगायतका सार्वजनिक पदमा एकै व्यक्तिले दुई कार्यकालभन्दा बढी प्रतिनिधित्व गर्न नपाउने नीति अघि सारेको छ ।

दलले २० प्रतिशतभन्दा कम जनमत प्राप्त गर्ने पार्टी सरकारमा सहभागी नहुने व्यवस्था पनि आफ्नो दस्तावेजमा समावेश गरेको छ ।

Advertisement:

Ad
Ad


निर्वाचन आयोगमा बिहीबार दर्ता भएको उक्त दलले पार्टीको कार्यसमिति र सार्वजनिक पदमा जाने व्यक्तिहरू फरक हुने व्यवस्था गरेको छ । दलले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित राजनीतिक अभ्यासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ ।


यस्तो छ  ‘गतिशील लोकतान्त्रिक पार्टी’को दस्तावेज 

सबै नेपालीको प्रथम अधिकार रोजगारी हो त्यो पनि दिगो रोजगारी । यो नै सरकारको प्रथम कर्तव्य हो ।

सरकारको पूर्ण कार्य भनेकै विकासको कार्य लगानीको कार्य, राज्य व्यवस्थापनको कार्य, नागरिकका लागि दिगो रोजगारी सिर्जना गर्ने हो । हरेक नागरिकलाई सिर्जनशील तथा रचनात्मक कार्यमा व्यस्त राख्ने वातावरण निर्माण हो । त्यसपछि मात्र समाज र राष्ट्र चलायमान हुन्छ । राष्ट्रमा समृद्धि र शान्ति सुव्यवस्था स्थापित हुन्छ ।

यसैकारण हामी नेपालको भविष्यप्रति चिन्तनशील आम नागरिक यसको समाधानका लागि पार्टी खोल्ने निष्कर्षमा आएका छौं । राजनीतिमा होमिनु हाम्रो राष्ट्रप्रतिको चिन्ता हो, पेशा होईन । हामी विविधताको सुसंस्कृति र सामाञ्जस्यपूर्ण समाजका लागि बहुलताको राजनीतिक लिएर आएका छौं ।

हाम्रा लागि सत्ता राज्यदोहनको साधन होइन । पार्टी र सरकारमा एक पद एक व्यक्तिको अवधारणा शुरूदेखि नै लागु गरिनेछ । छोटो अवधिका लागि मन्त्री, प्रधानमन्त्री भएपनि दुई चोटीभन्दा बढी प्रतिनिधित्व गर्न पाइने छैन । अर्थात् दुई कार्यकालपछि ऊ आफ्नो नियमित सामाजिक जीवनमा फर्किनै पर्छ ।

यसैगरी पार्टीलाई गतिशील बनाउनका लागि निम्न व्यवस्थाहरूलाई अभ्यासमा ल्याइनेछः

पार्टीको कुनै पनि सदस्य एकै पदमा दुई कार्यकालको लागि मात्र बहाल रहन सक्ने।

पार्टीको जुनसुकै कार्यसमितिको पदमा सोह वर्षसम्म बहाल रहेपछि पार्टीको कुनै पनि कार्यसमितिको पदमा नियुक्त हुन नपाउने ।

पार्टी कार्य समितिका पदाधिकारी र सार्वजनिक पदमा जाने व्यक्ति छुट्टाछुट्टै हुने ।

सार्वजनिक पद मन्त्री, प्रधानमन्त्रीमा दुई चोटीभन्दा बढी प्रतिनिधित्व गर्न नपाईने ।

पार्टीको हरेक गतिविधि खुल्ला सफ्टवेयरको माध्यमबाट निगरानी गर्ने ।

निकटको चुनाव बाहेक आगामी चुनावहरूमा स्थानीय स्तरको शुरूवाती ९एचष्mबचथ० तहबाटै सबैको सहभागितामा उम्मेदवार छान्ने ।

देशको सबै भुगोलमा सुशासन, उद्यमशीलता र समताको प्रतिबद्धता गर्दै संघीय स्तरमा प्रत्येक एजेण्डामा महासचिवहरू र प्रदेश र पालिकामा सचिवहरू रहनेछन्।

यसैगरि पार्टीको सबै तहमा चेतनशील, कर्मठ, समावेशी नेतृत्व हुने ।

यसले राजनीतिलाई पूर्णकालिन पेशामा बन्देज लगाउँछ भने नयाँ अनुहार र सोचको प्रवाहलाई थप बढावा दिन्छ । भविष्यको पुस्ताको लागि एउटा संस्थागत नासोको रूपमा स्थापित हुन्छ ।

हामीले आश्रय र आश्रित राजनीतिलाई वर्जित गरेका छौं । त्यसैले हाम्रा कुनै पनि वर्गीय संगठन हुने छैन । हाम्रो पूर्णकालिन कार्यकर्ता पनि हुनेछैन । २० प्रतिशतभन्दा कम मत पाएको खण्डमा हामी सरकारमा पनि सामेल हुने छैनौं ।