सर्वसाधारणलाई खुलाइएको एपोलो हाइड्रोपावरको आईपीओ आज बन्द हुँदै

२०८२ चैत ३० गते

सर्वसाधारणलाई खुलाइएको एपोलो हाइड्रोपावरको आईपीओ आज बन्द हुँदै

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले चैत २६ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज चैत ३० गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ जारी गरी बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुलाएको हो।

कम्पनीलाई जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डले दिएको छ। जसमध्ये ४ लाख ७० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र ९४ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

Advertisement:

Ad
Ad

कम्पनीले बाँकी आईपीओमध्ये ४७ हजार कित्ता सामुहिक लगानी कोषहरूका लागि र १८ हजार ८०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी अन्त्यमा बाँकी रहन गएको ७ लाख ८० हजार २०० कित्ता आईपीओ सर्वसाधारणका लागि खुलाएको हो। यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म माग गर्न सकिनेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई “केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।