२०८२ साउन ०६ गते
काठमाडौं । एसियाली विकास बैंक एडिबीले पाँच वर्षे राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक गरेको छ । मंगलबार आयोजित एक कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका लागि एडिबीको आगामी पाँच वर्षको २०२५ देखि २९सम्मको रणनीतिक मार्गदर्शन सार्वजनिक गरेका हुन् । रणनीतिले निजी क्षेत्रले नेतृत्व गर्ने आर्थिक वृद्धि, युवाहरूका लागि रोजगारी वृद्धि र वातावरणीय दिगोपना तथा जलवायु एवं विपद उत्थानशीलतालाई केन्द्रित गरेको छ ।
एसियाली विकास बैंकले नेपालमा पहिलोपटक विश्व बैंक समूहसँग संयुक्त रूपमा राष्ट्रिय साझेदारी फ्रेमवर्क तयार पारेको हो र यो सहकार्यमा आधारित विकास योजनामा महत्वपूर्ण कोसेढुंगा सावित हुने बताइएको छ । अर्थमन्त्री पौडेलले एडिबीको नयाँ राष्ट्रिय साझेदारी रणनीतिको सार्वजनिकीकरणसँगै एडिबीसँगको ६ दशक लामो साझेदारीमा नयाँ अध्यायको शुरुवात भएको बताएका छन् । आर्थिक रूपान्तरणको यात्रामा एडिबीको निरन्तरको सहयोगप्रति उनले कतज्ञता व्यक्त गरे ।
एडिबीका नेपाल प्रमुख आर्नड कोश्वाले राष्ट्रिय साझेदारी रणनीतिले नेपालको विकास लक्ष्य प्राप्तिमा सहयोग गर्नुका साथै समावेशी, उत्थानशील, हरित र रोजगारी सघन आर्थिक वृद्धिको एजेण्डामा सघाउ पुग्ने बताए ।
कार्यक्रममा एडिबीका प्रमुख अर्थशास्त्री इयान ह्यानसन र कार्यक्रम अधिकृत श्रीजना राजभण्डारीले राष्ट्रिय साझेदारी रणनीतिका मुख्य रणनीतिक प्राथमिकता र प्रमुख परियोजनाहरू प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया