काठमाडौं । राजनीतिको नर्सरी मानिने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)को निर्वाचनका कारण देशभरका क्याम्पसहरुमा चुनावी रौनक छाएको छ ।यही चैत ५ गते हुने निर्वाचनका लागि त्रिवि अन्तर्गत देशभरिका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियू निर्वाचन हुँदैछ । विशेषगरी राजनीति दलहरुले स्ववियू निर्वाचनलाई आफ्नो शक्ति प्रदर्शनका रुपमा हेरेका छन् ।
चुनावको मिति नजिकिएसँगै क्याम्पस परिसरमा निर्वाचन केन्द्रीत गतिविधिहरु भइरहेका छन् । उम्मेदवारहरुले चुनावी प्रचारलाई तिब्र बनाएका छन् ।
मुख्यगरी काठमाडौंको प्रदर्शनी मार्ग, वागबजार, पुतली सडक, घन्टाघर क्षेत्रमा विद्यार्थीहरुको चहलपहल बाक्लो छ । यद्यपी, कतिपय ठूला मानिएका क्याम्पसमा भने विद्यार्थी, निर्वाचन समिति, क्याम्पस प्रशासनबिच मनमुटाव हुँदा निर्वाचन स्थगित समेत भएको छ ।तथापी, निर्वाचन निश्चित भएका काठमाडौंका क्याम्पसमा चुनावी रौनक तिब्र देखिन्छ । उम्मेदवाहरु आफ्ना एजेन्डाहरु बोकेर विद्यार्थी माझ पुगिरहेका छन् ।
उपत्यका र उपत्यका वाहिरका केही क्याम्पसमा विवादका कारण तालाबन्दी र क्याम्पसमा तोडफोडले काठमाडौंका केही ठूला क्याम्पसमा चुनावी माहोल तातेको छ । काठमाडौंको प्रदर्शनीमार्गमा रहेको रत्न राज्यलक्ष्मी(आरआर) क्याम्पसमा निर्वाचन प्रक्रिया सहज रुपमा भइरहेको निर्वाचन समितिका संयोजक प्राध्यापक महेश भट्टराईले जानकारी दिए ।आरआर क्याम्पसमा प्रत्यक्षमा ८ ओटा र समानुपातिकमा १० ओटा संगठन दर्ता भएको भन्दै उनले स्ववियु निर्देशिका २०८१ अनुसार प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए ।उनले आरआरमा चुनाव नहुने भन्ने भाष्य गलत भएको भन्दै चुनावका लागि विद्यार्थी र विद्यार्थी संगठनहरु उत्साही रहेको प्रतिक्रिया दिए ।‘यहाँ ५१४६ जना मतदाताहरु छन् । यही आधारमा सात वटा बुथ निर्माण गर्दैछौ । त्यसका लागि सर्वदलीय, सर्वपक्षीय बैठक बसी छलफल गरिरहेका छौ । सबै विद्यार्थी र संगठनहरु बीच सहमति गरेका छौ । मतपत्र गणनाका आधारमा मतपत्र कति खस्छ, धेरै खसे ढिला होला थोरै खसे छिटै मत परिणाम ल्याउँछौ,’उनले भने ।
उनले सुरक्षा निकायहरुसँग प्रर्याप्त समन्वय गरेको जानकारी दिंदै भने, ‘हामीले यहाँको जिल्ला प्रशासन, प्रहरी, अनामनगरवृत्त, महानगरीय, सशस्त्रमा पनि निवेदन दिएका छौ । सुरक्षा व्यवस्थाको लागि निरन्तर सम्पर्कमा छौ । सुरक्षाकर्मीले सुरक्षाको कुनै कसुर छोडनुभएको छैन ।’ यस्तै, त्रिचन्द्र क्याम्पसका नेपाल स्वाभिमानी संघका स्ववियु सभापतिका उम्मेदवार विवेक वाँनियाले त्रिचन्द्र उजाड बन्दै गएको र विद्यार्थीहरुको संख्या घट्दै गएको अवस्थामा यसको विकासको लागि आफूले उम्मेदवारी दिएको सुनाए ।
उनले भने, ‘त्रिचन्द्रमा धेरै विषयहरु पढाइ हुन्छन् । जस्तै विसिए, विएस् सिआइटी जस्ता विषयहरु पढाइ हुन्छ । आइटी सम्बन्धि कोर्षहरु ल्याउन सक्यो भने धेरै राम्रो हुन्छ । यहाँ पार्ट टाइमका शिक्षकहरु छन् उनीहरुलाई करार गराउने वा व्यवस्थापन गर्नुपर्ने देखिन्छ । यसका साथै यहाँ त्रैमासिक परीक्षा हुदैन । परीक्षा नहँुदा विद्यार्थीहरुलाई आफ्नो मुल्याकंन गर्न अप्ठारो भएको छ । आफू विजयी भए त्यसका लागि वातावरण बनाउँछु ।’
यस्तै अर्का सभापतिका स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले पनि निर्वाचनको भव्य तयारी गरिरहेको बताए । उनले घण्टाघर र त्रिचन्द्र क्याम्पस जोड्ने पुल निर्माणको काम गर्ने योजना रहेको बताए ।
उनले भने, ‘त्रिचन्द्रमा क्यान्टिन, लाइवे्ररी, अनुसन्धान कक्षको व्यवस्थापन जरुरी छ । १०७ वर्षभन्दा पुरानो क्याम्पस क्याम्पस र घण्टाघरको सम्बन्ध हामीलाई थाहा छ । त्यसको लागि हामीले महानगरसँग प्रस्ताव भइसकेको छ । त्यो प्रस्तावलाई पारित गर्नेछौं ।’यस्तै उनले त्रिचन्द्र क्याम्पस भग्नावशेस अवस्थामा पुगेको भन्दै राजनीतिक अस्थिरताले स्ववियु नहुँदा विद्यार्थीको मुद्दाहरु ओझेल परेको पनि बताए
यसैगरी, सयुंक्त अनेरास्ववियु प्यानलका सचिव सुमनकुमार पुलामीले विद्यार्थीहरुको मुद्दाहरुसँगै भुकम्पबाट जिर्ण बनेको क्याम्पस भवन निर्माणका लागि पहल गर्ने, बैंक काउन्टरको लागि काम गर्ने बताए ।लामो समयपछि हुन लागेको निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नका लागि त्रिबिले मतदान यही चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकेको छ । निर्वाचनमा २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीमा व्यवस्था गरिएको छ ।
हुनत स्ववियू निर्वाचन विद्यार्थी हकहितको विषयमा केन्द्रित हुनुपर्ने भएपनि अधिकांश क्याम्पसहरुका आफ्नो माउ पार्टीको उपस्थितिलाई प्रमुख ठानेका छन् । दलगत स्वार्थको अखडा बन्ने हो कि भन्ने चिन्ता थपिएको छ । मुख्य राजनीतिक दलहरुले आफ्नो प्रभाव बलियो बनाउन विद्यार्थी सङ्गठनहरुलाई प्रयोग गरिरहेको कतिपय विद्यार्थीहरुको बुझाइ छ ।निर्वाचन हुने अधिकांश क्याम्पसमा विद्यार्थी संगठनहरुले सत्ता र प्रतिपक्षमा रहेका पार्टीका भातृ संगठनहरुले अलग अलग गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएकाले राजनीतिक शक्ति मापनको केन्द्रका रुपमा क्याम्पसहरुलाई प्रयोग गरिरहेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !