काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी धनाढ्य नागरिकका लागि विशेष ‘गोल्ड कार्ड’ योजना घोषणा गरेका छन्, जसको मूल्य ५ मिलियन डलर तोकिएको छ ।
उक्त कार्डले अमेरिका बसोबास र काम गर्ने सुविधा प्रदान गर्ने तथा नागरिकता प्राप्त गर्न मार्ग खोल्ने बताइएको छ ।
‘हामी गोल्ड कार्ड बेच्दैछौं, मंगलबार आफ्नो कार्यालयबाट सम्बोधन गर्दै उनले भने, ुतपाईंहरूसँग ग्रीन कार्ड छ । यो गोल्ड कार्ड हो । यसको मूल्य करिब ५ मिलियन डलर हुनेछ, जसले ग्रीन कार्डका सम्पूर्ण सुविधा दिनेछ र नागरिकता प्राप्त गर्ने बाटो खुला गर्नेछ । धनाढ्यहरू यो कार्ड किन्न आउनेछन् ।’
उनले दुई साताभित्र यो योजना शुरू हुने बताउँदै लाखौं गोल्ड कार्ड बिक्री हुन सक्ने दाबी गरे । पत्रकारहरूले राष्ट्रपति ट्रम्पलाई सोधेका थिए, ‘रुसी अर्बपतिलाई पनि यस्तो कार्ड बिक्री गर्ने हो ?’
ट्रम्पले भने, ‘म केही रुसी अर्बपतिलाई चिन्छु, जो असल मानिस हुन् ।’
ह्वाइट हाउसका अधिकारीहरूले यो योजना ईबी–५ भिसा कार्यक्रमको प्रतिस्थापन हुने बताएका छन् । यो कार्यक्रमअन्तर्गत अमेरिकी परियोजनामा लगानी गर्ने विदेशी नागरिकलाई ग्रीन कार्ड पाउने अवसर दिइन्छ ।
सन् १९९२ मा अमेरिकी कंग्रेसले ईबी–५ कार्यक्रम स्थापना गरेको थियो, जसअन्तर्गत कम्तीमा १ दशमलव ५ मिलियन डलर वा आर्थिक रूपमा कमजोर क्षेत्रका परियोजनामा ८ लाख डलर लगानी गर्ने विदेशी नागरिकले अमेरिकामा स्थायी बसोबास अनुमति (ग्रीन कार्ड)पाउने व्यवस्था छ ।
ट्रम्प परिवारका कतिपय व्यवसायीहरूले समेत यस कार्यक्रमको उपयोग गर्दै आफ्ना ठूला परियोजनाहरूको वित्तीय स्रोत जुटाएका थिए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !