काठमाडौँ । धनुषा जिल्ला हसपुर नगरपालिका ८ का सुशिल कुमार मण्डल बिना कारण इजरायलको कम्पनीबाट निश्काशित हुनपरेपछि मन अमिलो बनाउँदै यतिखेर नेपालस्थित दुताबासमा कसरी गुनासो पोख्न सकिन्छ भनेर धाइरहेका छन् । दुताबास धाउनुको पछाडि के छ त ? भनेर थाहा पाउन उनको विगत बुझ्नै पर्छ ।
१२ कक्षा पास गरेर गाउँमै बसिरहेका बेला सुशिल आमा सदस्य भएको साना किसान विकास बैंकमार्फत कृषि कामका लागि विद्यार्थी भएर जान पाउने ‘लर्न एण्ड अर्न ‘कार्यक्रममा छानिन्छन्। सन् २०१९मा उनी लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत कृषि कामका लागि इजरायल पुगेका थिए । इजरायलको किनरेट भन्ने शहरको किनरेट कलेज अन्तर्गत किबुज नामक कम्पनीमा उनलाई प्रशिक्षार्थी कामदारका रुपमा काम दिइन्छ ।
इजरायलको कलेजले पठाएको किबुज फार्ममा हप्तामा पाँच दिन काम गर्नुपर्ने थियो । काम सिकाइका रुपमा भएपनि त्यो बापत सुशिलले राम्रो पैसा पाउँथे । किबुजको नियम अनुसार त्यहाँको लेबर अनुरुप उनको तलब तोकिएको थियो । काम राम्रै चलिरहेको थियो उनले महिनामा लगभग २ लाख जती कमाउँथे । कलेजलाई धेरथोर तिरेर राम्रै जोगाइरहेका थिए । घरमा पैसा पठाइरहेका थिए । उनको काम बिहान ४ बजे उठेर दूध दुहुने कहिले त कहिले टमाटर टिप्ने थियो, कम्पनीका मालिक उनको काममा खुशी थिए । उनको इजरायल बस्ने समय सकिनै लागेको थियो । सुशिल फर्कने तयारी गर्दै थिए विश्वव्यापी कोभिड महामारी शुरु भयो फ्लाइटहरु बन्द भए नेपाल फर्कन पाएनन् उनी । ठिकै भयो उनी थप बसेर पैसा कमाउन चाहन्थे कोभिडले थप समय बस्ने मौका दियो । भीसा थपेर काम गर्ने अवसर पाए ।
१ वर्षको भीसा सकिएपछि सन् २०२१ मा उनी नेपाल फर्किए । नेपाल फर्केर किराना पसल खोलेर गुजारा गरिरहेका थिए । यसैबीच इजरायलमा द्वन्द चर्किन थाल्यो । धेरै कृषि श्रमिकहरु आ आफ्नो देश फर्किए । इजरायलमा कृषि श्रमिकको अभाव भयो । यसैबीच इजरायल हुँदा चिनेका साथीहरु मार्फत बोलावट भयो । पैसा राम्रै आम्दानी हुने ठानेर उनले फेरी जाने सोच बनाए । २०२४ फेबु्रअरी ४ मा दोस्रो पटक परिवारसँग बिदा भएर सुशिल इजरायल हानिए । इजरायल पुगेको १ वर्ष पुरा हुँदै थियो, काम राम्रै चलिरहेको थियो । परिवारलाई पैसा पठाइरहेका थिए सुशिलले । एक दिन अचानक नसोचेको कुरा भयो उनीमाथि । अघिल्लो दिन कामको छुट्टी थियो,छुट्टीको भोलिपल्ट काममै थिए सुशिल एकाएक उनलाई कसैले बोलायो यसो हेर्दा उनको अगाडि एउटा ट्याक्सी रोकिइराखेको थियो । कम्पनीकै कसैले भन्यो ‘तिमी अब कम्पनीमा काम गर्न पाउँदैनौ मालिकले तिम्रो फिर्ता हुने टिकट समेत काटेर पठाइदिएको छ ।’ एक छिन त अक्क न बक्क भए सुशिल । उनलाई काममा ढिलासुस्ती भयो भन्ने बहाना बनाएर निकालिएको पो रहेछ पछि थाहा पाए । खासमा उनले त्यहाँ पाँच वर्ष कानुनी रुपमा काम गर्न पाउने अवस्था थियो ।
पहिलो पटक ‘लर्न एण्ड अन’ कार्यक्रममा निःशुल्क इजरायल पुगेपनि यसपटक भने सुशिलले ६ लाख खर्च गरेर त्यहाँ पुगेका थिए । लागत तिरेर भर्खर बचत गर्दै थिए एकाएक कम्पनीको मालिकले घर पठाउन खोज्दा छाँगाबाट खसे जस्तो हुन पुगे सुशिल। ‘काम चित्त नबुझे नसियत दिनपर्ने थियो केही थाहै नपाई कामबाट निकालिएँ धेरै दुःख लागेको छ,’ उनी भन्छन् । इजरायलको श्रम ऐन अनुसार गल्ती नगरी श्रमिकलाई कामबाट निकाल्न पाइँदैन ।त्यसो त उनका साथीहरुले कम्पनीका साहुसँग कुरा गरेर सुशिलललाई कुनै अर्को फर्ममा काम गर्न दिन आग्रह पनि नगरेका होइनन् तर मान्दै मानेनन् साहु । किन साहु रिसाए प्रश्नको उत्तर सुशिलले थाहै पाउन सकेनन् । तुरुन्त कम्पनी छाड्न भनेपछि आफ्नो महत्वपूर्ण सामान समेत झिक्न पाएनन् । ट्याक्सी चढे यसो टिकट हेरे टिकट त काठमाडौँसम्मको होइन रहेछ भारतको मुम्बईसम्मको मात्र पो रहेछ ।
झस्किँदै गएको माघको १८ गते इजरायलबाट मुम्बई हुँदै नेपाल झरेका सुशिल यतिखेर कहिले प्रवासमा रहेर नेपाल फर्कनेका संस्था रिटर्नी नेपाल त कहिले नेपालमा रहेको इजरायलको दुताबास धाइरहेका छन् । आफू अन्यायमा परेको र भोलिका दिनमा आफू जस्तै अन्य साथीहरु काम गरिरहेको ठाउँबाट निकालामा नपरुन् भनेर न्यायका लागि धाइरहेका छन् । उनले दुताबासमा आफूले कुरा राख्न पाउँ भन्दै आवेदन दिएका छन् । उनी भन्छन्- -श्रम ऐन विपरित मलाई निकालियो मैले न्याय पाउन पर्छ ।’
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !