काठमाडौँ । चालु आर्थिक वर्षको पुष मसान्तसम्मको तथ्यांक अनुसार राष्ट्रिय स्तरका विकास बैंकको नाफा १६.०२ प्रतिशतले बढेको छ ।
बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनामा सर्वाधिक नाफा आर्जन गर्नेमा गरिमा विकास बैंक पहिलो स्थानमा रहेको छ । यस अवधिमा बैंकले आफ्नो नाफा ७.१६ प्रतिशतले बढाएर ५४ करोड ९२ लाख रुपैयाँ पुर्याएको हो ।
गत वर्षको यसैअवधिमा बैंकले ५१ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो । यता, बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः २.१९ प्रतिशत र ७.२८ प्रतिशतले बढेको छ । गत वर्ष १ अर्ब ८० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको यो वर्ष बढेर १ अर्ब ८४ करोड पुर्याएको छ । यस्तै, सञ्चालन नाफा पनि ७३ करोड रुपैयाँबाट बढाएर ७८ करोड रुपैयाँमा पुर्याएको छ ।
नाफामा दोस्रो स्थानमा रहेको मुक्तिनाथ विकास बैंकका नाफा भने ५० करोड ३१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा २७.०९ प्रतिशतले बढी हो ।
सर्वाधिक नाफा वृद्धि गर्नेमा ज्योति विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंक रहेकोछ । यसअवधिमा ज्योतिले आफ्नो नाफा १४७ प्रतिशतले बढाएर २५ करोड १ लाख पुराएको छ भने सांग्रिलाले ९६ प्रतिशतले बढाएर १९ करोड ६५ लाख रुपैयाँ पुर्याएको हो ।
कामना सेवा विकास बैंकको ३२ करोड, महालक्ष्मी विकास बैंकको २८ करोड रुपैयाँ नाफा रहेको छ । विकास बैंकको सबैभन्दा कम नाफा आर्जन गर्नेमा लुम्बिनी विकास बैंक रहेको छ ।
बैंकले आफ्नो मुनाफा ३० प्रतिशतले घटाउँदै १४ करोड रुपैयाँमा सीमित भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !