काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङले प्रहरी समक्ष गल्ती स्वीकार्दै माफी मागेकी छन् । तामाङलाई जथाभावी बोलेको र अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको थियो । बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेका बेला तामाङले आवेशमा आएर आफूले गल्ती गरेको प्रहरी समक्ष स्वीकारेकी हुन् ।
पशुपति क्षेत्र विकास कोषमा पुगेर आशिकाले सुरक्षार्थ खटिएका प्रहरी र कोषका कर्मचारीलाई अभद्र व्यवहार गरेकी थिइन् । कोषकै उजुरीका आधारमा उनलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरी हिरासतमा पुगेपछि आशिकाले आफ्नो बोल्ने शैली र व्यवहारका कारण अरूलाई दुःख परेकोमा माफी मागेकी हुन् । आशिकालाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ । उनलाई भेट्न कोही पनि पुगेका छैनन् । हिरासतमा अन्य थुनुवाले पाउने सुविधा उनले पाएकी छिन् ।
गौशाला वृत्तका प्रमुख डीएसपी सुकदेव खनालका अनुसार आशिकाले प्रहरीसमक्ष माफी मागेकी हुन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !