काठमाडौ । अहिले नेपालको बैकिङ प्रणाली अधिक तरलता (लगानी योग्य रकम) को चपेटामा छ । बैंकर्सहरुका अनुसार बैंकहरुसँग अहिले ९ खर्ब रुपैयाँ भन्दा बढी ऋण दिने पैसा (लोनएबल फण्ड) छ । तर, यतिका धेरै रकम हुँदा पनि ऋण प्रवाहले गति लिन सकेको छैन ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ अधिक तरलताले बैंकहरु मारमा परेको बताउँछन् । उनी भन्छन, ‘निक्षेपकर्ताको पैसा राख्दिन भन्न बैंकहरुले मिल्दैन । त्यही निक्षेपकर्ताको रकम मात्र थुप्रने तर कर्जा माग नहुने अवस्था छ । निक्षेपकर्ताले ५/६ प्रतिशतमा राखेको पैसा हामीले तीन प्रतिशतमा राष्ट्र बैंकमा राख्नु परेको छ ।’
बैंकहरुले सर्वसाधारणबाट लिएको निक्षेप उनीहरुलाई दिने ब्याजदर भन्दा करिब २ प्रतिशत कम दरमा राष्ट्र बैंकमा राख्नुपर्दा लागत बढेको बैंकर्सहरु बताउँछन् । अर्का बैंकर्स भन्छन्, ‘कतिपय सर्वसाधारण भएको रकम ब्याजमा लगाएर त्यही ब्याज आम्दानी खाएर बस्नेहरु पनि छन् । ऋणको ब्याज महंगो हुँदा सडकमा ऋणी आएजस्तै निक्षेपको ब्याजदर कम भएकै कारण निक्षेपकर्ता पनि सडकमा ओर्लिए के हुन्छ ?’ बैंकर्सहरु निक्षेपको ब्याजदर अत्यन्तै न्युन हुँदा पुँजी पलायनको खतरा समेत देख्छन । अब राज्यले पुँजी पलायन हुन नदिन बेलैमा सोच्ने बेला आएको उनीहरुको भनाइ छ ।
बैंकहरु अधिक तरलताको मारमा परेको तथ्य राष्ट्र बैंकबाट बैंकहरुले चालु आर्थिक वर्षको कात्तिक २३ गतेसम्म (३ महिना २३ दिन) ९४ खर्ब ७७ अर्ब ८५ करोड रुपैयाँ बराबरको स्थायी निक्षेप सुविधा (एसडिएफ) उपभोग गरेको तथ्यांकले पुष्टि गर्छ ।
बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा आइतबार, मंगलबार र शुक्रबार केन्द्रीय बैंकमा निक्षेप राख्न सक्छन । यसरी राखेको निक्षेपबाट बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजदर पाउँछन् ।
विदेशी बैंकमा पैसा राख्ने सिमा बढाइदिनुपर्ने बैकर्सको माग
कुनै बेला नेपालका बैंकहरुले विदेशी बैंकमा कोर क्यापिटलको ३० प्रतिशतसम्म रकम राख्न पाउँथे । तर यो सिमा केन्द्रिय बैंकले घटाएर १५ प्रतिशतमा झारेको छ । एक बैंकर्स पैसा थुप्रिएको बेला यस्तो सिमा बढाइदिनुपर्ने बताउँछन् । ती बैकर्स भन्छन, ‘विदेशी बैंकमा राख्ने निक्षेपको सिमा बढेको भएपनि बढी आम्दानी गर्न सक्थ्यौ । पहिला तरलता टाइट भएको बेला लिएको नीति अहिले सान्दर्भिक छैन । यसको पुनरावलोकन भए हामीले राहत पाउँथ्यौ ।’
केन्द्रिय बैंकको तथ्यांक अनुसार भदौ मसान्तसम्म ४२ अर्ब ४९ करोड १० लाख रुपैयाँ बैंकहरुको बचत विदेशी बैंकमा रहेको छ ।
अमेरिका, युरोप, क्यानडा, पाकिस्तान, भारत लगायतका देशमा नेपालका बैंकहरूले पैसा राख्ने गरेको पूर्वबैंकर भुवन दाहाल बताउँछन् । दाहालका अनुसार बैंकहरूले निक्षेप उठाएर स्वदेशमै कर्जा प्रवाहमा जोड दिने र बाँकी रहेको रकम मात्र विदेशी बैंकमा राख्ने गरेका छन् । तर अहिले निक्षेप मात्र उठाउँने तर कर्जा नजाने अवस्था छ । तिनीहरूले विशेषगरी विदेशका निजी र सरकारी बैंकमा पैसा राख्ने गरेका छन् ।
यता, नेपाल राष्ट्र बैंकका प्रवक्ता समेत रहेको कार्यकारी निर्देशक रामु पौडेलले अहिले विदेशी बैंकहरुमा पनि ब्याजदर कम भएकाले सिमा बढाइदिए पनि बैंकहरुले फाइदा लिन नसक्ने बताउँछन् । अर्कोतर्फ ब्याजदर तल्लो विन्दुमा आएको भन्दै ब्याजदर करिडोर हेरफेर गर्ने विषयमा केन्द्रिय बैंकले छलफल चलाएको चर्चा चलेको छ । तर यसलाई राष्ट्र बैंकले गलत चर्चा भएको स्पष्ट पारेको छ । राष्ट्र बैंकका प्रवक्ता पौडेलले ब्याजदर करिडोरका विषयमा कुनैपनि छलफल नभएको बाणिज्य पोष्टलाई बताए ।
अहिले बैंकहरुको सिडि रेसियो (कर्जा/निक्षेप अनुपात) औषतमा ७८ प्रतिशत छ । जबकी बैंकहरुले एक सय रुपैयाँ निक्षेप संकलन गरेका छन भने ९० रुपैयाँ सम्म लगानी गर्न पाउँने अवस्था छ । तर अहिले बैंकहरु सो सिमा भन्दा निकै तल रहेको छन् । यसले पनि बैंकहरु अधिक तरलताको सकसमा परेको पुष्टि गर्छ ।
अहिले निक्षेपकर्ताले आफ्नो पैसाको लगानी गर्ने उपयुक्त क्षेत्र नपाएकाले पनि कम ब्याजदरमै बैंकमा निक्षेप राख्न बाध्य भएको विश्लेषकहरु बताउँछन् ।
अमेरीकाको फेडले पनि निरन्तर ब्याजदर घटाउँदै
नेपालले मात्र होइन अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले पनि ब्याजदर घटाइ रहेको छ । भर्खरै मात्र अमेरिकी केन्द्रिय बैंकले सन्दर्भ ब्याजदर ०.२५ आधार बिन्दुले घटाएको छ। यो सँगै अब ब्याजदर ४.५० प्रतिशतदेखि ४.७५ प्रतिशतसम्म कायम भएको छे । यसअघि ४.७५ प्रतिशतदेखि ५ प्रतिशत रहेको थियो । आर्थिक वृद्धिदर सुधार र मुद्रास्फीति सन्तुलन देखिएकोले ब्याजदर घटाइएको बैंकले जनाएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !