काठमाडौ । अबदेखि बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा केवाईसी विवरण भर्नु नपर्ने भएको छ । अहिले कुनै पनि बैंक तथा वित्तिय संस्थामा खाता खोलेपछि केवाइसी ( व्यक्तिगत र पारिवारिक विवरण ) अनिवार्य भर्नुपर्ने प्रावधान छ । सरकारले जारी गरेको सम्पत्ति शुद्धिकरण निवारण नियमावलीमा खाता खोल्दा तथा विभिन्न गतिविधि गर्दा राष्ट्रिय परिचयपत्रको विवरण अनुसार जानकारी लिन सक्ने व्यवस्था गरेको हो । सरकारले यो नियमावली गत साता जारी गरेको थियो । नियमावलीको नियम ३ मा सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ७क बमोजिम सूचक संस्थाले ग्राहकको पहिचान गर्दा नेपाल सरकारको विद्युतीय अभिलेखमा राखेको व्यक्तिगत विवरण आफ्नो आन्तरिक प्रणालीमा लिइ ग्राहक पहिचान गर्न सक्ने उल्लेख छ ।
नियमावलीअनुसार सूचक संस्थाले एनको दफा ७ क अनुसार ग्राहकको पहिचान गर्दा त्यस्तो व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने क्रममा नेपाल सरकारले विद्युतीय अभिलेखमा राखेको व्यक्तिगत विवरणमा सूचक संस्थालाई पहुँच दिएको भएमा सम्बन्धित व्यक्तिको सहमतिमा त्यस्तो विद्युतीय अभिलेखबाट आवश्यक विवरण आफ्नो आन्तरिक प्रणालीमा लिई ग्राहक पहिचान गर्न सक्नेछ । यहाँ सुचक संस्था भनेको बैंक तथा वित्तिय संस्था भन्ने बुझिन्छ । यो व्यवस्थाले मोबाइल नम्बर र ग्राहकको अनुमति भएपछि केवासी भर्न नपर्ने भएको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !